शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

झगडा गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स ‘सस्पेन्ड’ 

शुक्रबार, कात्तिक १७ २०८०
झगडा गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स ‘सस्पेन्ड’ 

तारा एयरका पाइलटद्वय सन्तोष साह र सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलमै हात हालाहाल भएको थियो। लुक्लाबाट जहाज उडाएर आएका पाइलट साह र लुक्ला जाने तयारीमा रहेका श्रेष्ठबीच विमानस्थलमै झगडा भएको थियो। 

काठमाडौं- विमानस्थल क्षेत्रमै आपसमा झगडा गर्ने तारा एयरका दुईजना वरिष्ठ पाइलटको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्पेन्ड गरेको छ।

राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै छानबिनका लागि प्राधिकरणले दुईजना पाइलटको लाइसेन्स स्थगन गरिदिएको हो। यो अवधिमा उनीहरूले जहाज उडान पाउने छैनन्।

तारा एयरका पाइलटद्वय सन्तोष साह र सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलमै हात हालाहाल भएको थियो। लुक्लाबाट जहाज उडाएर आएका पाइलट साह र लुक्ला जाने तयारीमा रहेका श्रेष्ठबीच विमानस्थलमै झगडा भएको थियो।

हात हालाहाल गरेका पाइलट श्रेष्ठले लगत्तै जहाज उडाएर लुक्ला पुगिसकेका छन्। सामान्यतया कुनै पनि त्यस्तो झगडा भएपछि पाइलटलाई उडानमा रोक लगाउनुपर्छ तर विमानस्थल प्रशासनले श्रेष्ठलाई सहजै जहाज उडान दिएको पाइएको छ।

अब भने पाइलट श्रेष्ठ र साहले जहाज उडान नपाउने भएका छन्। छानबिनपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ। ‘सम्भवत: दुवै पाइलटको लाइसेन्स खारेज हुनसक्छ। यो निकै गम्भीर विषय हो’ प्राधिकरणका एक अधिकारीले भने। 

प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend