शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोटमा बढे पर्यटक

सोमबार, कात्तिक ६ २०८०
सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोटमा बढे पर्यटक

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ। 

काठमाडौं-तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन्। बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ। 

त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका(५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो। गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ। 

अहिले दसैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय अनिल अधिकारीले बताए। उनले भने, ‘अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादसैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो।’

अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरु पनि बढेका छन्। त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन्। 

दसैँको समयमा काठमाडौँबाट दमौली आउनुभएकी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताए। उनले भने, ‘यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ।’


मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।
रासस


प्रकाशित : सोमबार, कात्तिक ६ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend