सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

२ करोड १६ लाख खर्चेर ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
images
२ करोड १६ लाख खर्चेर ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।

images
images

काठमाडौं- ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो। 

images
images
images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरे। 

images
images

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्‍याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए। महालक्ष्मी नगरपालिका क्षेत्रमा लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको र लाइन लामो हुँदा उपभोक्ताहरुबाट ट्रिपिङलगायतका गुनासो आउन गरेको उल्लेख गर्दै घिसिङले यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए। 

images
images

उनले भने, 'आन्तरिक रुपमा विद्युत् खपत बढाउन प्रणाली सुधार भइरहेको छ, यसका लागि धेरै लगानी गरिरहेका छौँ, नगरपालिकातर्फबाट जग्गा उपलब्ध गराएमा लुभु क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन पनि स्थापना गर्नेछौँ।'

नगर प्रमुख श्रेष्ठले मुल सडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने बताए। सडक बत्ती कार्यक्रमलाई थप विस्तार गर्न लागिएको श्रेष्ठले उल्लेख गरे। 

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि २ करोड १६ लाखमा ठेक्का सम्झौता भएको थियो। कुल लागतमध्ये प्राधिकरणले ८६ लाख र नगरपालिकाले १ करोड ३० लाख लागत साझेदारी गरेका छन्। बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरुलाई प्रयोग गरिएको छ। 

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन्। ‘स्ट्रिट लाइट’ले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि नगरको रात्रिकालीन सौन्दर्यता बढाउने छ। नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने छ। 

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। 

सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ। 

प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend