शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
घरबासमा आन्तरिक पर्यटकको चहलपहल

खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ।

बाँके- दसैँ आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ।

वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए।

उनका अनुसार बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन्। मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन्। वर्षात्मा सुनसान हुन पुगेको उक्त होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीको भनाइ थियो। बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए।

'यतिबेला बाहिरी जिल्लासँगै नेपालगन्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्', चौधरीले भने, 'दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गरेका छन् ।'

काठमाडौँमा अध्ययन गर्दै आएका नेपालगन्ज-२० राँझा निवासी विशाल शर्मा दसैँ बिदामा घर आएको बेला होमस्टेको स्वाद चाख्न गाभर पुगेको बताए। काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दसैँ बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे।

दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी-८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताए। बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उनको भनाइ थियो। दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताइन्। रासस 


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००६:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend