शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एसियन लाइफ इन्सोरेन्सले किन्यो यतीको सेयर, सीईओमा सुवास सापकोटा

मंगलबार, असोज ३० २०८०
एसियन लाइफ इन्सोरेन्सले किन्यो यतीको सेयर, सीईओमा सुवास सापकोटा

काठमाडौं- सञ्चालनको २५ वर्षपछि यती एयरले लगानीकर्ता भित्र्याएको छ। यती एयरले एसियन लाइफ इन्सोरेन्स कम्पनीलाई नयाँ साझेदारको रुपमा भित्र्याएको हो।

लगानीकर्ता भित्र्याएको यतीको सीईओसमेत परिवर्तन भएको छ। नयाँ सीईओमा सुवास सापकोट चयन भएका छन्। सापकोटा यसअघि एफवानसफ्टमा थिए। 

लगानी तथा सेयरको विषयमा सहमति भए पनि इन्स्योरेन्सले कति प्रतिशत सेयर लिने र कति लगानी गर्ने भन्ने विषय भने गोप्य राखिएको छ। तर इन्सोरेन्स कम्पनीले बीमा प्राधिकरणबाट ४९ प्रतिशत सेयर खरिदका लागि सहमति लिएको थियो। एसियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता प्रिमियमसहित १ सय ७० रूपैयाँमा यती एयरमा लगानी गर्ने गरी बीमा प्राधिकरणबाट सहमति लिएको हो। यती एयरको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको र त्यसको ४९ प्रतिशत सेयर खरिदका लागि एसियन लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट सहमति लिएको हो।  

प्राधिकरणले दिएको सहमतिअनुसार नै एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रूपैयाँ लगानी गर्ने छ। प्रतिकित्ता एक सय रूपैयाँको सेयरमा ७० रूपैयाँ प्रिमियमसमेत थप हुँदा १ अर्ब ७५ करोड रूपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गर्ने छ।

यती एयर व्यवस्थापनले एसियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणबाट पाएको अनुमतिअनुसार ४९ प्रतिशत सेयर नै खरिद गर्छ कि त्योभन्दा कम गर्छ भन्ने विषयमा भने केही खुलाएको छैन।

इन्स्योरेन्सले अधिकतम ४० प्रतिशतसम्म सेयर खरिद गर्न सक्छ। इन्स्योरेन्सले सेयर खरिदसँगै यतीको पुरानो वित्तीय दायित्वसमेत स्वीकार गर्ने गरी सहमति भएको छ। इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड रूपैयाँ रहेको छ। 

यतीले साझेदारबाट रकम आएपछि तत्कालै ३ वटा 'एटीआर ७२' जहाज खरिद गर्ने योजनासमेत बनाएको छ। यतीले अहिले ५ वटा एटीआर ७२ जहाजमार्फत हवाई सेवा दिँदै आएको छ। विस्तारै १० वटा जहाज पुर्‍याउने योजना रहेको यती ग्रुपका अध्यक्ष सोना लाक्पा शेर्पाले बताउँदै आएका छन्। उनले नयाँ लगानिकर्ता भित्र्याउँदै आमनागरिकहरूका लागिसमेत सेयर जारी गरेर अगाडि बढ्ने उद्घोष गरेका छन्। यस्तोमा अबको केही दिनमा नै एसियन लाइफ इन्स्योरेन्सले यतीको सेयर खरिदबापतको रकम भुक्तानी गर्ने र दुईपक्षीय सहमति हुने भएको हो।

यती एयर यात्रु संख्याको हिसाबले दोस्रो बजार हिस्सा ओगटन सफल हवाई सेवाप्रदायक कम्पनी हो। आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट हवाई उडान सुरु गरेको थियो। यतीले सुरुवाती उडान नाइन एन एईभीबाट गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ।

यती एयरको भगनी संस्था तारा एयरले दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडानसहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend