शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक हवाई भाडा कसरी तय हुन्छ?

सोमबार, असोज २९ २०८०
आन्तरिक हवाई भाडा कसरी तय हुन्छ?

सरकारले अधिकतम भाडाको सीमा तोकेपछि सोही आधारमा वायु सेवा कम्पनीले लिने भाडा तय हुन्छ। सरकारले तोकेकोभन्दा धेरै लिन मिल्दैन।यदि लिएमा सरकारले कारबाही गर्न सक्छ।

काठमाडौं- जब चार्डपर्व सुरु हुन्छ तब हवाई भाडा सामान्य अवस्थाको भन्दा महँगो हुन्छ। त्यसमा पनि काठमाडौं आउने र जाने एउटै गन्तव्यको भाडामा पनि ठूलो अन्तर हुन्छ।

उदाहरणका लागि कात्तिक ५ गतेका लागि काठमाडौंबाट भद्रपुरका लागि ९ हजार ८ सयदेखि १२ हजार ३ सय ८३ सम्मको भाडा तय भएको छ। तर सोही दिन भद्रपुरबाट काठमाडौंको भाडा भने अधिकतम ६ हजार ९ सय मात्रै रहेको छ। यसैगरी काठमाडौंबाट विराटनगरको भाडा ७ हजार २ सयदेखि ८ हजार ४ सय रूपैयाँसम्म छ। सोही दिन नै विराटनगरबाट काठमाडौं फर्कने भाडा भने ५७ सयदेखि ६५ सय रूपैयाँसम्म छ। यसैगरी काठमाडौं-धनगढीको भाडा ११ हजारदेखि १७ हजार रूपैयाँ छ भने धनगढी-काठमाडौंको भाडा ७ हजार ९ सयदेखि १३ हजार रूपैयाँसम्म रहेको छ।

यो त उदाहरण मात्रै हो अब जति ढिला टिकट काट्दै जान्छन्, दसैँको टिकाको दिनसम्म काठमाडौंबाट जाने टिकट झनै महँगो हुँदै जान्छ। टिकाको दिनसम्म काठमाडौं आउने टिकट भने जाँदाको भन्दा जस्तो हुन्छ। त्यसको एउटै कारण हो जाँदा जहाज फूल अकुपेन्सीमा उड्छन् तर फर्कँदा भने जहाजमा ५० प्रतिशत पनि यात्रु हुँदैनन्।

वायुसेवा कम्पनीका सञ्चालकहरु पनि एकतर्फी मात्रै यात्रुको चाप हुँदा चाप भएको ठाउँबाट जाँदा भाडा महँगो पर्ने बताउँछन्। तर सरकारले अनुमति दिएको भन्दा बढी भाडा नहुने उनीहरुको तर्क छ।

हवाई भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नै स्वीकृत भएको हुन्छ। सरकारले हवाई भाडाको अधिकतम सीमा तोकिदिएको हुन्छ। वायुसेवा कम्पनी सोही आधारमा भाडा तय गर्छन्।

वायुसेवा कम्पनीले सस्तोदेखि महँगो भाडा तय गरेका हुन्छन्। जति माग बढ्दै जान्छ त्यति नै टिकट फेयर बढ्दै जाने हो। माग नभएको अवस्थामा भने अन्तिम समयमा पनि भाडा घट्ने हुन्छ। तर दसैँको बेलामा पछिल्लो समयमा माग बढ्दै जाने हुँदा टिकटको भाडा बढ्छ।

सामान्य अवस्थामा वायुसेवा कम्पनीहरुले अधिकतम भाडामा ५० प्रतिशतसम्म कममा पनि टिकट बेच्छन्। दसैँका लागि सुरुमै टिकट काट्नेले पनि केही सस्तोमै पाउने वायुसेवा कम्पनीहरुको दाबी छ। अहिले नै पनि धनगढीको भाडा १७ हजार पुगे तापनि  १२ हजारभन्दा कमको पनि टिकट रहेको छ।

अब विषय रह्यो हवाई भाडा कसरी निर्धारण हुन्छ। सरकारले अधिकतम भाडाको सीमा तोकेपछि सोहीअनुसार वायुसेवा कम्पनीले लिने भाडा तय हुन्छ। सरकारले तोकेकोभन्दा धेरै लिन मिल्दैन, यदि लिएमा सरकारले कारबाही गर्न सक्छ।

हवाई भाडामा ४ वटा शीर्षक रहेको हुन्छ। जसमा इन्धन चार्ज, हवाई फेयर, यात्रु सेवा शुल्क तथा भ्याट रहेको हुन्छ। सामान्यतया हवाई भाडाको ३५ देखि ४० प्रतिशतसम्म इन्धन चार्ज जोडिएको हुन्छ।

यसैगरी जहाजको पार्टपुर्जा, विमानस्थलाई तिर्नुपर्ने शुल्क, कर्मचारी खर्च, विमान कम्पनीले गर्ने तालिमलगायतका शीर्षको खर्च जोडिएको हुन्छ। सोअनुसार नै भाडा तय हुने वायुसेवा सञ्चालकहरुको भनाइ छ।  


प्रकाशित : सोमबार, असोज २९ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend