शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्यार्पु महोत्सवले स्थानीयको आयआर्जनमा सहज

शनिबार, असोज २७ २०८०
स्यार्पु महोत्सवले स्थानीयको आयआर्जनमा सहज

सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ। पछिल्लो समय यहाँ आउने पर्यटक संख्यामा वृद्धि भएको छ।

रुकुमपश्चिम- नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो। सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन्।

वडा नं ३ र ५ को बीचमा पर्ने स्यार्पु तालले असारदेखि कात्तिकसम्म भरिभराउ भएर जो कसैको पनि मन लोभ्याइरहेको हुन्छ। सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ। स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर स्यार्पुले यहाँका स्थानीयलाई आन्तरिक तथा बाह्य पर्यटक आउँदा आर्थिकरुपमा टेवा पुर्‍याएको छ।

करिब दुई दशमलव छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ। हिउँदको तुलनामा वर्षामा तालको आकार दोबर बढी हुन्छ। असारबाट भरिन सुरु गरेको ताल साउनको अन्तिमतिर आइपुग्दा पूरा भरिन्छ। स्यार्पु ताल अवलोकन गर्ने पर्यटकको संख्या पनि यो बेला धेरै हुने गरेको छ। 

शनिबारको समय मिलाएर फ्रेस हुन बिदाको दिन छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, रोल्पाबाट पनि पर्यटक आउने गर्छन्। ताल अवलोकनका लागि ‘बोटिङ’ गरेर आनन्द लिने भएकाले पनि स्यार्पु तालमा थप पर्यटकको आकर्षण हुने गरेको छ। तालमा आइसकेपछि तालको चारैतिर घुम्न आधुनिक डुंगाको व्यवस्था छ। 

आधुनिक डुंगा राखिनु तथा खान र बस्नका लागि घरबास सञ्चालन गरिनुले स्यार्पु घुम्न आउनेको संख्यामा वृद्धि भएको स्थानीय भूपेन्द्र मल्लले बताए। 'मान्छेहरू छुट्टी मनाउनका लागि आउने गरेका छन्, ताल हेर्न आएकाहरू डुंगा नचढी फर्किँदैनन्, तालले गर्दा स्थानीयको आयस्रोतसमेत बढेको छ', मल्लले भने। स्यार्पु तालको छेउमै तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो।

स्यार्पु ताललाई देशविदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिए। यही असोज ११ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको थियो। रासस


प्रकाशित : शनिबार, असोज २७ २०८००७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend