शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पार्टीनिकट पत्रकारहरू भेटेर अर्थमन्त्रीले भने- प्रचण्डले गरेका कामहरू स्थापित गराउनुपर्‍यो

शनिबार, मंसिर ४ २०७८
पार्टीनिकट पत्रकारहरू भेटेर अर्थमन्त्रीले भने- प्रचण्डले गरेका कामहरू स्थापित गराउनुपर्‍यो

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

काठमाडौं- अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशमा आएको परिवर्तन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण मात्र सम्भव भएको भन्दै त्यसलाई सबैमाझ स्थापित गराउनुपर्ने बताएका छन्। 

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको कार्यक्रममा शनिबार उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको भन्दै त्यसलाई पत्रकारले स्थापित सत्यका रुपमा अघि बढाउनुपर्ने बताएका हुन्। 

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले त्यसो गर्दा मात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताए।

नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए।

‘सत्य के हो? त्यसलाई स्थापित गर्नुस्। जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई। आजको सत्य के हो? नेपाली राजनीतिको सत्य के हो? नेपाली समाजको सत्य के हो? आजको हाम्रो समग्र अवस्था के हो? भन्ने कुरालाई स्थापित गर्नुस्' उनले भने। 

'त्यो स्थापित गर्दा त्यहाँ कुन-कुन पात्र आइपुग्छन, त्यतातिर नहेर्नुस्। त्यसकारण सत्य कुरा स्थापित गर्न लाग्नु भयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ। त्यो परिवर्तनको रक्षाका लागि एउटा अभियान बन्छ। त्यसअर्थबाट नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आइपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तबादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होइन यो। यो अझ सुदृढ प्रजातन्त्र हो' उनले थपे। 

अर्थमन्त्री  शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताए। 


प्रकाशित : शनिबार, मंसिर ४ २०७८०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend