शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उद्योगमा लगानी प्रतिबद्धता : २ महिनामै ५७ प्रतिशतले कमी, ५८ उद्योगमा ३५ अर्बको लगानी प्रतिबद्धता

उद्योगमा लगानिकर्ताको आकर्षण घट्दो

बिहीबार , असोज १८ २०८०
उद्योगमा लगानी प्रतिबद्धता : २ महिनामै ५७ प्रतिशतले कमी, ५८ उद्योगमा ३५ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं- कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थतन्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ। अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानिकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ। उद्योगमा लगानिकर्ताको आकर्षण कमी भएको तथ्य उद्योग विभागमार्फत आउने लगानी प्रतिबद्धताबाट नै थाहा हुन्छ। 

चालु आर्थिक वर्षको दुई महिनामै नयाँ उद्योग दर्ता र लगानी प्रतिबद्धतामा ठूलो गिरावट आएको छ। चालु आवको साउन र भदौमा जम्मा ६१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। लगानी प्रतिबद्धता भएका उद्योग अधिकांश साना प्रकृतिका उद्योग रहेका छन्।  उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ महिनामा ५८ वटा उद्योगमा ३५ अर्ब १४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। चालु आवको २ महिनामा आएको लगानी प्रतिबद्धता रकम गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिको तुलनामा ५७ प्रतिशतले कमी हो।

गत आवको दुई महिनामा ७३ वटा उद्योगमा ८२ अर्ब १९ करोडको लगानी प्रतिबद्धता आएको थियो। चालु आवको दुई महिनमा गत आवको सोही अवधिको तुलनामा ४७ अर्ब रुपैयाँले लगानी प्रतिबद्धतामा कमी आएको हो। चालु आवको दुई महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता रकम आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको भन्दा पनि कम हो। २०७८/०७९ को साउन र भदौमा ६० वटा उद्योगमा ५३ अर्ब ६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

यो तथ्यांकले स्वदेशी तथा विदेशी लगानिकर्ताको आत्मविश्वास खस्कँदै गएको देखाएको छ। भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले पछि सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योगमा आइरहेको लगानी प्रतिबद्धतामा देखिन्छ। कोरोना महामारीको गहिरो प्रभावबाट माथि नउठेको गत वर्षको तुलनामा यो वर्ष व्यवसायीको आत्मविश्वास झन् खस्किएको यो तथ्यांकले देखाएको छ। उद्योग दर्ताको संख्यामात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी क्षमता पनि यो अवधिमा घटेको छ। 

ठूला प्रकृतिका उद्योगमा घट्दो लगानी प्रतिबद्धता

चालु आवको दुई महिनामा ५ वटामात्रै ठूला प्रकृतिको उद्योगमा लगानी प्रतिबद्धता आएको छ। ५ वटा ठूलो उद्योगमा २५ अर्ब ७ करोडको लगानी प्रतिबद्धता आएको छ।  

यसैगरी दुई महिनमा ४४ वटा साना उद्योग विभागमा दर्ता भएका छन्। ४४ वटा उद्योगमा जम्मा २ अर्ब १४ करोडको मात्रै लगानी प्रतिबद्धता आएको छ। साथै मध्यम स्तरको ९ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। ९ वटा उद्योगमा ७ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

५ वटा ठूला प्रकृतिका उद्योगमध्ये ३ वटा ऊर्जातर्फका उद्योग रहेका छन् भने २ वटा होटल रहेका छन्। सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले उत्पादन गर्ने हाइड्रोमा १३ अर्ब ४४ करोड, म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालिमा ४ अर्ब २२ करोड, एसएनइनर्जी प्रालिमा ४ अर्ब ३८ करोड, होटल बुद्ध स्टार प्रालिमा १ अर्ब ८५ करोड र वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिमार्फत १ अर्ब १६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

गत आर्थिक वर्षको २ महिनामै  २५ वठा ठूला प्रकृतिका उद्योगमा ६५ अर्ब ६२ करोड रुपैयाँको लागनी प्रतिबद्धता आएको थियो। यसैगरी साना मध्यम स्तरका उद्योगतर्फ २७ वटा उद्योगमा १३ अर्ब ६७ करोडको लगानी प्रतिबद्धता आएको थियो। साथै २२ वटा साना उद्योगमा ३ अर्ब १९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।
 
क्षेत्रगत उद्योगमा लगानी

चालु आवको २ महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामूलक उद्योगमा आएको छ। हाइड्रोतर्फका ४ वटा उद्योगमा २२ अर्ब २३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी कृषि तथा वनतर्फका ३ वटा उद्योगमा ३४ करोड २० लाख रुपैयाँ, सूचना प्रविधितर्फका ३ वटा उद्योगमा ९ करोड, पूर्वाधारमूलक उद्योगतर्फ ५ वटामा १० करोड, ७ वटा उत्पादनमूलक उद्योगतर्फ १ अर्ब ३८ करोड, २३ वटा पर्यटनमूलक उद्योगमा ४ अर्ब ४७ करोड र १३ वटा सेवामूलक उद्योगमा ६ अर्ब १२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend