शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकी सहायक विदेशमन्त्री लुले ओली र प्रचण्डसँग भेटेर गरे एमसीसीबारे कुरा

शुक्रबार, मंसिर ३ २०७८
अमेरिकी सहायक विदेशमन्त्री लुले ओली र प्रचण्डसँग भेटेर गरे एमसीसीबारे कुरा

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका लुले शुक्रबार एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन्।

काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साथै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनले दुवैसँग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे कुराकानी गरेका हुन्। 

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका लुले शुक्रबार एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी गरेका लुले ओली र प्रचण्डसँग विशेष गरी एमसीसी सम्झौताबारे नै कुराकानी गरेका हुन्। 

नेपालको संसदले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विषयमा जटिलता बढ्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल भ्रमणमा आएका हुन्।

oli-and-lu-bhet.jpg

दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै नेपाल आएका हुन्। 

सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। ३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन।

लु आउनुअघि नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले समेत जनाएको थियो। 

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले पनि काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्। सत्तारुढ दलभित्र नै एमसीसीबारे एकमत नभएका कारण सम्झौता अनुमोदन अन्योलमा छ। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५०० मिलियन डलर अनुदान दिँदैछ।


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend