शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

पशुपालक किसानलाई गोठालो भत्ता, रकम बैंक खातामै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
पशुपालक किसानलाई गोठालो भत्ता, रकम बैंक खातामै

५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक एक हजार रुपैयाँ तथा एक सयभन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रुपैयाँका दरले गोठालो भत्ता दिइँदै छ।

मान्म- कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ। पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो। 

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो। कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक एक हजार रुपैयाँ तथा एक सयभन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रुपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ। सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए। 

'किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ', उनले भने, 'यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ।' उहाँका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन्। त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान छ जना रहेको गाउँपालिकाले जनाएको छ। 

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend