शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी- मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी-ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो। मालिका-५ र धवलागिरि-७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी-फेवा जेभी पोखराबीच रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो।

विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिए पनि पुल निर्माण सुरु नै नभएको धवलागिरिका उपाध्यक्ष रेशम छन्त्यालले बताए। 'धवलागिरिको केन्द्रसहित पाँचवटा वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि पुल निर्माणका लागि पहल गरेका थियौँ', उनले भने, 'सकिनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ।'

फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ। विसं २०७७ र ७८ को बर्खामा दाङखोलामा आएको बाढीले पुल पुरिएको थियो। पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ। फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ। पच्चीस मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए। 

जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत बनाएपछि पुनः सर्वेक्षण गरिएको थियो। पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले डिजाइन परिवर्तन गरेर पहिलेकै निर्माण व्यवसायीमार्फत पुल निर्माण गराउन लागिएको बताए।

'सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो', उनले भने, 'विसं २०७७ बर्खाको बाढीले क्षति पुर्‍याएपछि रिडिजाइन गरी भेरिएसन अर्डर तयार गरी दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको छ।' यो योजनाको सम्झौताको म्याद आगामी चैतसम्म थपिएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend