शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पोखरासँग जोडियो सहस्राब्दी पदमार्ग

images
बिहीबार , असोज ११ २०८०
images
पोखरासँग जोडियो सहस्राब्दी पदमार्ग

समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ। 

images
images

गण्डकी- पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ। सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन।

images
images
images

पदमार्गको हालै गरिएको नयाँ नक्सांकनले पोखरा महानगरपालिकासँग पनि जोडिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए। 'यसअघि सन् २०१२ मा गरिएको नक्सांकनमा पोखरा मिलेनियम ट्रेकसँग जोडिएको थिएन', उनले भने, 'उक्त नक्सांकनमा केही समेट्नै पर्ने स्थान छुटेकाले पुनः नक्सांकन गरिएको हो, यसको प्रारम्भिक खाका (ड्राफ्ट) आइसकेको छ।'

images
images

पुनः नक्सांकन कार्य भूगोल विषयका सहप्राध्यापक डा रामजी पोखरेलको नेतृत्वमा तयार गरिएको जानकारी दिँदै गुरुङले यसलाई चाँडै नै अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए। नयाँ नक्सांकनमा पोखरा महानगरपालिका-३३ को भरतपोखरीबाट निर्मलपोखरी, स्याङ्जाको टक्सार हुँदै शुक्ला गण्डकी नगरपालिका-१२ लामागाउँ जोडिएको उनले जानकारी दिए।

images
images

योसँगै मिलेनियम ट्रेकमा पछिल्लो समयमा कृषि पर्यटनका विषयमा चर्चा कमाएको भरत पोखरीको बागमाराबाट पदयात्री मिलेनियम ट्रेकको लामागाउँ खण्डमा जोडिन सक्ने गुरुङको भनाइ थियो। 'यसले भरत पोखरी र निर्मल पोखरीका पर्यटकीय गन्तव्यलाई समेत प्रवर्द्धन गर्ने भएको छ', उनले भने, 'नयाँ नक्सांकनले प्रचारप्रसारको अभावमा ओझेलमा परेका भरत पोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवम् पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।'

समितिका महासचिव गुरुङका अनुसार नयाँ नक्सांकनमा यस अघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवम् ऐतिहासिकस्थल समेटिएका छन्।

समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ। 

पदमार्गको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले १० लाख रूपैयाँ तथा पदमार्गमा सिँढीबाटो निर्माणका लागि ५० लाख रूपैयाँ छुट्याएको छ। चालु आर्थिक वर्षमा मिलेनियम ट्रेकका लागि गण्डकी प्रदेश सरकारले २० लाख रूपैयाँ विनियोजन गरेको महासचिव गुरुङले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज ११ २०८००७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend