शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विश्व पर्यटन दिवस : २०२३ भित्र पर्यटन पुनरुत्थानको प्रक्षेपण

बुधबार, असोज १० २०८०
विश्व पर्यटन दिवस : २०२३ भित्र पर्यटन पुनरुत्थानको प्रक्षेपण

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउँछन्।

काठमाडौं- आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँ मन्त्रालय र मातहत निकाय र सरोकारवालाहरुको उपस्थिति रहनेछ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मंगलबजारसम्म प्रभातफेरि गरिनेछ। पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रम हुनेछ। पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ।

मन्त्रालयका प्रवक्ता केसीले विश्व पर्यटन दिवसलाई भव्य र प्रभावकारी रुपमा मनाउन प्रदेश र स्थानीय तहलाई पनि पत्राचार गरिएको जानकारी दिए। विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो। कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ।

‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। दिवसकै अवसरमा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सोमबार रक्तादान कार्यक्रम गरेको छ। दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने उल्लेख गरे।

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले दिवसका अवसरमा गरिने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। उनका अनुसार संघको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम गरिँदैछ। कोभिड-१९ (कोरोना भाइरस) महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको छ।

बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ। विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। विश्वव्यापीरुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ।

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा ६ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए। सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउँछन्। दसैँ, तिहार, छठलगायत पर्वले पर्यटनमा रौनकता बढाउँछ। विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन्। रासस


प्रकाशित : बुधबार, असोज १० २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend