शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसद

शनिबार, असोज ६ २०८०
नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसद

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए।

काठमाडौं- अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन्। नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।

पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौंमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताए।

'मेरो खुसीको सीमा छैन', भोजनीले भने, 'अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव  जहिल्यै रहिरहन्छ।'

पाकिस्तानी मुलका भोजनी अमेरिकी-टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन्। उनी नेपाली समुदायबीच निकै लोकप्रिय छन्। निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैव सक्रिय भइरहने उल्लेख गरे। उनले भने, 'टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोट मागेँ - मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु।'

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए। 'पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो। विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ', सांसद भोजनीले भने।

सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ। उनले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरे।

भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल हुन्छन्। नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि पर्छन्। वरिष्ठ अधिवक्तासमेत रहेका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाएका छन्। टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेलेका थिए। अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए।

सो अवसरमा भोजनीले स-साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथाहरू सुनाए। उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केही नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगायतका काम गरेका छन्। रासस


प्रकाशित : शनिबार, असोज ६ २०८००८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend