शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शरद ऋतुमा मनासलु आरोहणमा सर्वाधिक आरोही, ३ सय १ जनाले लिए अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३ २०८०
शरद ऋतुमा मनासलु आरोहणमा सर्वाधिक आरोही, ३ सय १ जनाले लिए अनुमति
मनासलु हिमालअघि पर्यटक। तस्बिर - नेपाल पर्यटन बोर्ड

शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन्।

काठमाडौं- यस वर्षको शरद ऋतुमा मनासलु (८ हजार १ सय ६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन्।

पर्यटन विभागका अनुसार यो याममा मनासलु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित ३ सय १ आरोहीले आरोहण अनुमति लिएका हुन्। यो याममा मनासलु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कुल ३ सय ३९ आरोहीले आरोहण अनुमति लिएका छन्।

विभागका निर्देशक राकेश गुरुङले मनासलु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए। निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनासलु आरोहण गरेको थियो। योसहित अन्य तीन टिमले मनासलु आरोहण गरेका छन्। अहिले धेरै आरोही आरोहणका क्रममा छन्। विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ।

मनासलु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो। शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन्।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनासलुको सफल आरोहण गरेका थिए। त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनासलु आरोहण गरेको रेकर्ड छ। सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनासलु आरोहण गरेका थिए। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend