शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतले अनुमति नदिँदा पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
भारतले अनुमति नदिँदा पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

भारतले प्रवेशाज्ञा नदिएका कारण बंगालादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौं हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन्।

झापा- पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ। कोभिड-१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए।

कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटंकीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बंगाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्जले सीमावर्ती पानीटंकी नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ।

'बंगालादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो', उनले भने, 'विगतमा ठूलो सङ्ख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे। अहिले चलहलपहल ठप्पप्रायः छ।'

भारतले प्रवेशाज्ञा नदिएका कारण बंगालादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौं हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन्। नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बंगालादेशी पर्यटकको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ। अध्यगमन कार्यालय काँकडभिट्टाका अनुसार कोभिड सुरु हुनुअघि यो नाका भएर सबैभन्दा बढी बंगालादेशी पर्यटक आउने गरेका थिए।
 
अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्मा पूर्वीनाका भएर २१ देशका पाँच हजार एक सय ९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन्। जसमध्ये तीन हजार चार सय १४ पुरुष र एक हजार सात सय ८३ महिला रहेका छन्।
 
भुटानबाट एक हजार सात सय २९, अष्ट्रेलियाबाट १२, बंगालादेशबाट १२, क्यानडाबाट सात, चीनबाट दुई, फिनल्याण्डबाट तीन, नेदरल्याण्डबाट तीन, फिलिपिन्स, रसिया, सिंगापुर र थाइल्याण्डबाट एक-एक, दक्षिण कोरियाबाट तीन, युकेबाट ११, युएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन्। रासस


प्रकाशित : सोमबार, असोज १ २०८००४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend