बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

जंगली हात्तीकै कारण खेत बाँझो छाड्नुपर्ने बाध्यता, बालीनाली जोगाउन छ मुस्किल

images
बुधबार, भदौ २७ २०८०
images
जंगली हात्तीकै कारण खेत बाँझो छाड्नुपर्ने बाध्यता, बालीनाली जोगाउन छ मुस्किल

जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौँदेखि जंगली हात्तीको समस्या झेल्दै आएका छन्।

images
images

बेदकोट- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल-भारत सीमा नजिकै पर्छ। उनको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ। उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जंगली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउँदैनन्।

images
images
images

पारी भारततर्फ नङरा जंगल छ। उक्त जंगलबाट आउने जंगली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेको उनको गुनासो छ। 'अचेल दिनहुँ १५/२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ', महावीर भन्छन्, 'जंगल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन।'

images
images

जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौँदेखि जंगली हात्तीको समस्या झेल्दै आएका छन्।

images
images

जंगली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ। आगो बालेर ढ्यांग्रो बजाउँदै हो-हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ। 'हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ', उनी भन्छन्, 'बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ।'

दोधारा चाँदनीमा जंगली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन्। शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ। विसं २०२२ देखि बसोबास सुरु भएको शिवनगरवासीलाई जंगली हात्तीको त्रास छ। 'सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्', चन्द्रकला मगर गुनासो गर्छिन्, 'हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन।'

हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उनी बताउँछिन्। 'धान र मकै सखाप पारिसक्यो, एक÷दुई कट्ठाको धान बाँकी छ', चन्द्रकला भन्छिन्, 'यो पनि जोगाउन मुस्किल छ।'

बर्सेनि हात्तीले क्षति पुर्‍याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ। हात्तीकै कारण खेत बाँझो हुन थालेको छ। 'बर्सेनि हात्तीले बालीमा क्षति पुर्‍याउँछ, खेती गर्दाको लगानी पनि उठ्दैन, अन्न किनेर खानुपर्छ', स्थानीय वीरभान सुनार भन्छन्, 'हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ।' रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend