शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बिजनेस न्युज तेस्रो वर्षमा : सूचना, सोच र विश्वसनियताको दीर्घकालीन यात्रा

बिहीबार , भदौ २१ २०८०
बिजनेस न्युज तेस्रो वर्षमा : सूचना, सोच र विश्वसनियताको दीर्घकालीन यात्रा

वस्तुनिष्ठ र तथ्यपरक सूचना उत्खनन् गरी समाचारका रूपमा पाठकसमक्ष प्रस्तुत गर्ने ऊर्जा अझ बढ्दै गएको हामीले अनुभव गरेका छौँ।

आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेटेर अर्थतन्त्रका विविध पक्षमा विश्वसनीय समाचार सम्प्रेषण गर्दै बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ। विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा हाम्रो अगाडिको बाटो थप स्पष्ट देखिएको छ। 

वस्तुनिष्ठ र तथ्यपरक सूचना उत्खनन् गरी समाचारका रूपमा पाठकसमक्ष प्रस्तुत गर्ने ऊर्जा अझ बढ्दै गएको हामीले अनुभव गरेका छौँ। सूचना, त्यसबाट निर्माण हुने सोच र विश्वसनियतालाई ध्यानमा राखेर विषय सुरु गर्ने मात्र होइन त्यसलाई निचोडमा पुर्‍याउनमा हामीले ध्यान केन्द्रित गरिरहेका छौँ। 

अनलाइन मिडियाको विश्वसनियतामा प्रश्न उठिरहेकै बेला गम्भीर र विश्वसनीय आर्थिक पत्रकारिता गर्ने प्रतिबद्धताका साथ हामी आएका थियौँ। हामीले आफ्नो उद्देश्यलाई ध्यानमा राखेर गएका दुई वर्ष पाठकको विश्वास जित्न सफल भएको अनुभव गरेका छौँ। 

अहिले पाएको विश्वास र मायाबीच निश्चय पनि हामीले अझ परिमार्जित, परिस्कृत र परिपक्व हुँदै जानुछ। विभिन्न लाभहानीको जोडघटाउ गरेर समाचार बन्नै अयोग्य रहेका हरखाले सूचनाको पछाडि दौडनुभन्दा निश्चित दायरामा हामीले आफूलाई बाँधेर त्यसभित्रको गहिरो आयाम विचार गरिरहेका छौँ। आउने दिनमा पनि हामी समाचारमा यी दायराबाट बाहिर भड्किने छैनौँ। 

हामी पाठकको रूचिअनुसारको गुणस्तरीय समाचार तथा सामग्री प्रकाशन गर्ने र त्यसमार्फत मुलुकको अर्थतन्त्र र आर्थिक क्षेत्रमा योगदान गर्ने प्रतिबद्धतामा कुनै सम्झौता गर्ने छैनौँ। आगामी दिनमा पनि प्रतिस्पर्धामा आधारित आर्थिक नीति, उपभोक्ता हित र अर्थतन्त्रको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर समाचार, आलेख, विचार तथा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने छौँ।

सरकारको नियमनकारी भूमिका र निजी क्षेत्रको उत्थान र प्रतिस्पर्धालाई हामीले सधैँ बढावा दिनेछौँ। देशको कानून र नियमले बाँधेका विषयमा हामी त्यसबाट बाहिर विचलित हुने छैनौँ। हाम्रा सूचना र सामग्रीको प्रस्तुति विधि र विधानअनुरुप नै अघि बढ्नेछ। 

आउने वर्ष हामीले आफूलाई नेपालको आर्थिक पत्रकारितामा मूलधारका रुपमा उभ्याउनेछौँ। हाम्रा लागि समाचारको लम्बाइ, चौडाइ र गहिराइ सबैको केन्द्रमा पाठक हुनेछन्। वस्तुनिष्ठ र तथ्यपरक सूचना र समाचारका साथ दीर्घकालीन यात्रामा हामी तपाईंसँगै निरन्तर रहनेछौँ।

तेस्रो वर्ष प्रवेशको अवसरमा हामी पाठकवर्ग, विज्ञापनदाता तथा सहयोगीहरूमा आभार व्यक्त गर्दछौँ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend