शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

५ वर्षभित्र वायुसेवा कम्पनीको न्यूनतम ५ जहाज हुनुपर्ने, यस्ता छन् मर्जर नीति स्वीकार्य हुनेसहित ९ नियम

पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने

शुक्रबार, भदौ १५ २०८०
५ वर्षभित्र वायुसेवा कम्पनीको न्यूनतम ५ जहाज हुनुपर्ने, यस्ता छन् मर्जर नीति स्वीकार्य हुनेसहित ९ नियम

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले 'एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) परिमार्जन गर्दै ९ वटा नयाँ व्यवस्था जारी गरेको छ। जसमा सबै वायुसेवा कम्पनीले आगामी ५ वर्षभित्रमा जहाजको संख्या न्यूनतम ५ वटा बनाउनुपर्ने व्यवस्था गरेको छ। साथै प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुनेसमेत उल्लेख गरेको छ।

यसैगरी प्राधिकरणले वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीहरूसँग न्युनतम तीनवटा जहाज हुनुपर्ने व्यवस्थासमेत गरेको छ।

प्राधिकरणले हवाई सुरक्षालाई समेत ध्यान दिँदै वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर र पोस्ट होल्डरहरूले प्राधिकरण तथा नेपाल सरकारको नीति तथा कार्यहरूविपरितका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरू सार्वजनिक रुपमा व्यक्त गर्न नहुने व्यवस्था गरेको छ।

एकाउन्टेबल म्यानेजर र पोस्ट होल्डरहरूले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यावसायिक कार्यहरू (जस्तै टुर्स एण्ड ट्राभल्स) आदिमा संलग्न हुनसमेत नपाउने व्यवस्था गरेको छ। 

यसैगरी वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपीएल, एटीपीएल वा एएमलको लाइसेन्स प्राप्त गरेको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा समेत सहभागी हुन नपाउने व्यवस्था गरेको हो। साथै पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने विषयसमेत परिमार्जनमा उल्लेख छ। 

साथै नो अब्जेक्सन सर्टिफिकेटप्राप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने र प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरूले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डरहरू नियुक्त गर्न नपाउने भएका छन्।

प्राधिकरणले वायुसेवा कम्पनीहरूको म्यानेजर र पोस्ट होल्डरहरूको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधिसमेत जारी गरेको छ। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend