बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बेनी-जोमसोम सडक : दश ठाउँमा ठूलो पहिरोको जोखिम

images
मंगलबार, भदौ १२ २०८०
images
बेनी-जोमसोम सडक : दश ठाउँमा ठूलो पहिरोको जोखिम

कालीगण्डकी करिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिरोको जोखिम छ। बेनीबाट घाँससम्म बर्सेनि पहिरोले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ।

images
images

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ। म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दुरीको सडक पहिरोबाट प्रभावित छ। बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बेनी-घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए।

images
images
images

'सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डीपीआर निर्माण नगरिएकाले अहिले समस्या आएको छ', उनले भने, 'अहिले कम्तीमा १० वटा ठूला पहिरोको पहिचान गरी विस्तृत अध्ययन सुरु गरेका छौँ।'

images
images

उनका अनुसार रघुगंगा गाउँपालिका-३ गलेश्वर पारिको राहुघाट, अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से, जलथले-खामभित्ता क्षेत्रको पहिरो विस्तृत अध्ययन सम्पन्न गरी रोकथाम तथा संरक्षणको काम थालिएको छ। रघुगंगा गाउँपालिका-२ बैसरी खण्डको पहिरो नयाँ हो। यो पहिरोको विस्तृत अध्ययन गर्ने योजना बनाएको जानकारी उनले दिए।

images
images

बैसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने रुप्से झरनाबाट काभ्रेभिर क्षेत्रमा करिब पाँच सय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ। त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभिर, लाटाखोलामा पनि बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ। यस्तै अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने नागढुंगा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ।

रघुगंगा गाउँपालिका वडा नं १ बेगखोला, वडा नं २ मासखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने चमेरे र गलेश्वर पारि पहिरोको जोखिम छ। भूगर्भविद्हरूले गरेको अध्ययनअनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ।

सडक निर्माण सुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन। जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ। पहिरोका कारण बर्सातका समयमा यातायात प्रभावित हुने गरेको छ। यात्रुले सास्ती भोग्दै आएका छन् । 

बेनी-जोमसोम-कोरोला सडकको सर्भे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन। करिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिरोको जोखिम छ। बेनीबाट घाँससम्म बर्सेनि पहिरोले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ। पहिरोले दुःख दिन थालेपछि एक वर्षयता भूगर्वविद्को टोलीबाट पहिरोको विस्तृत अध्ययन भइरहेको आयोजना प्रमुख प्रजापतिले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend