शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित, कुनमा को?

सोमबार, भदौ ११ २०८०
प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित, कुनमा को?

कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा निर्वाचित भएका छन्।

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेद्‌वारी प्रस्ताव दर्ता भएका थिए। नौ वटा विषयगत समितिमा एकल उम्मेद्‌वारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेद्‌वारी प्रस्ताव दर्ता भएको थियो।

एकल उम्मेद्‌वारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन्। साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेद्‌वारी दर्ता गरेकामा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन्। सभापति घोषणासँगै आजै सपथ ग्रहणको तयारी भइरहेको संसद् सचिवालय गरेको छ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन्। त्यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन्।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र १० वटै संसदीय समितिले पूर्णता पाएको हो। रासस 


प्रकाशित : सोमबार, भदौ ११ २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend