शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

शनिबार, भदौ ९ २०८०
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ।

सिमकोट- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ।

लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो। गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो। आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेसन इञ्चार्ज गोविन्द लामाले बताए। बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन्।

हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ। जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ। योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ। नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए। बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो।

उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो। उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ। रासस


प्रकाशित : शनिबार, भदौ ९ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend