शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जनतालाई महँगीको भार बोकाएर सरकारी संस्थान आयल निगमको नाफा १८ अर्ब

शुक्रबार, भदौ ८ २०८०
जनतालाई महँगीको भार बोकाएर सरकारी संस्थान आयल निगमको नाफा १८ अर्ब

'निगमले घाटा नै खानु पर्छ भन्ने होइन तर बोनस नै खाने गरी जनताको ढाड सेकेर नाफा खानु कालोबजारी नै हो'

काठमाडौं- जनतालाई महँगीको भार थुपारेर सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले एक वर्षमै १८ अर्ब रूपैयाँ नाफा कमाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ नियमित रूपले घट्दा पनि नेपालमा मूल्य नघटाएर निगमले मनग्य नाफा लिएको हो।  

तेलमा कालोबजारीसरह अर्बौं नाफा लिएर आयल निगमले जनतालाई महँगीमा पारिरहेको छ। निगमले १८ अर्ब नाफा कमाउँदा अहिले स्वचालित मूल्य लागु छ। विगतको दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगमले गत वर्ष भने अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा कमाएको हो। गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थानको सूचीमा आयल निगम लिमिटेड पहिलो बनेको छ। 

२०२७ सालमा स्थापना भएको नेपाल आयल निगम लिमिटेड पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा छ। देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरणको जिम्मेवारी आयल निगमको एकलौटी हो। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगम नेतृत्वमा आएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपालमा भने मूल्य घटाउनुको सट्टा बढाएका छन्। थानीले विगतको नोक्सान पूर्ती गर्नका लागि मूल्य नघटाएको बताउँदै आएका छन्। निगमले यसअघि आर्थिक वर्ष २०७२/७३ मा १९ अर्ब ३६ करोड रूपैयाँ नाफा गरेको थियो।

गतवर्ष निगमले २ खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो। उक्त रकम अघिल्लो २०७८/७९ को तुलनामा १३ प्रतिशत कम हो। गत आवमा निगमले १ खर्ब १० अर्ब रुपैयाँ राजस्व बुझाएको छ। आयात गरेर एकछत्र व्यवसाय गरेर निगमले नाफा कमाएको हो। एक्लै आयात गरेर व्यापार गर्ने तर अत्याधिक नाफा लिने परिपाटीले जनतालाई महँगीमा पारेको धेरैको बुझाइ छ। 

nepal oil nigam storage.jpg

‘अहिले आयल निगमले अर्बौं नाफा गरेर व्यापारीको भाषा बोलेर हिँडेको छ,’ उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले भने। सरकारले अन्य कारोबारमा कालोबजारी गरेको भन्दै कारबाही गर्ने गरेको तर आयल निगमलाई एकछत्र छाडेको उनले बताए।

'निगमले घाटा नै खानु पर्छ भन्ने होइन तर बोनस नै खाने गरी जनताको ढाड सेकेर नाफा खानु कालोबजारी नै हो' महर्जनले भने। आम नगरिकको जीवन सहज बनाउनेगरी सरकारले खडा गरेको संस्था अहिले व्यापारिक घराना जस्तो बन्दै गएको समेत उनको भनाइ छ। 

नागरिकले अत्याधिक उपभोग गर्ने वस्तुका कारोबारी संस्थाले मनलाग्दी नाफा कमाएको छ। आयल निगमले त बजार मूल्य घटेर आएको तेलको यताको बिक्री मूल्यमा पहिले बढेर आएको मूल्य नै एकदुई दिन कायम गरिदियो भने त्यसको नाफाको अंक चुलिने गरेको छ।

निजी क्षेत्रले तेलको पनि कारोबार गरेको भए र निगमले गरेजस्तै मूल्यमा समायोजन गर्न केही समय ढिलो गरिदिने भए त्यसलाई खुलारूपले कालोबजारी भनेर सरकारले नै कारबाही गर्ने गरेको थियो। सरकारबाटै आफ्ना नागरिकलाई ठग्ने काम आयल निगममार्फत गरिएको छ।

कहिले कति नाफा?

आयल निगमले पछिल्लो पटक गरेको मूल्य समायोजनअनुसार पेट्रोलमा ३.६३ रुपैयाँ प्रतिलिटर नाफा रहेको छ। डिजेलमा २.७९ रुपैयाँ प्रतिलिटर नाफा रहेको छ। मट्टितेलमा १९.९७ रुपैयाँ प्रतिलिटर नाफा रहेको छ।

त्यस्तै ग्यासमा प्रतिसिलिन्डर २.२२ रुपैयाँ नाफा रहेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २५.१९ प्रतिलिटर रहेको छ। अन्तर्राष्ट्रियतर्फ १ हजार लिटरमा ४२.४४ डलर नाफा रहेको छ। निगमले अहिलेको प्रक्षेपणअनुसार १५ दिनको नाफा ५५ करोड रुपैयाँ रहेको छ। 

noc.JPG

गतवर्षको महँगी ६.३२ प्रतिशतसम्म, चालुवर्ष झनै बढ्ने

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ।  २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, भदौ ८ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend