शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आसेपासे भर्तीको केन्द्र बन्दै निगम, २२ महिनामा कार्यकारी अध्यक्ष अधिकारीले दिए १३९ जनालाई नियुक्ति

बुधबार, भदौ ६ २०८०
आसेपासे भर्तीको केन्द्र बन्दै निगम, २२ महिनामा कार्यकारी अध्यक्ष अधिकारीले दिए १३९ जनालाई नियुक्ति

थोरै जहाज र धेरै कर्मचारीका कारण खर्चको भार थेग्न नसकेको निगममा अहिले कार्यकर्ता र आसेपासेलाई धमाधम नियुक्ति दिइँदै आएको देखिन्छ।

काठमाडाैं- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २२ महिनामा १ सय ३९ जना आसेपासेलाई विभिन्न पदमा नियुक्ति दिएको खुलेका छ।

अधिकारीलाई २०७८ कात्तिक ८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले निगम कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। कार्यकारी अध्यक्षमा नियुक्त भएको एक महिनादेखि नै अधिकारीले तत्कालीन मन्त्री तथा आफ्ना आसेपासेलाई नियुक्ति दिन थालेका थिए।

कार्यकारी अध्यक्ष अधिकारीले २०७८ मंसिर २६ गतेबाट करार तथा मासिक बेसमा कर्मचारीलाई नियुक्ति दिन थालेका थिए। सोही क्रममा अधिकारीले अन्तिक पटक २०८० को भदौ १ गतेसम्म आइपुग्दा १ सय ३९ जना आसेपासेलाई विभिन्न पदमा नियुक्ति दिइसकेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती आएपछि मात्रै निगममा ५१ जना करारका कर्मचारी नियुक्ति भएका छन्।

ऋण र खर्चको भारमा थिचिएको निगममा मन्त्रीसहित अध्यक्ष अधिकारीले थप आर्थिक भार पर्नेगरी आसेपासे र आफन्तलाई जागिर खुवाएका हुन्। थोरै जहाज र धेरै कर्मचारीका कारण खर्चको भार थेग्न नसकेको निगममा अधिकारीसँगै मन्त्री किरातीले कार्यकर्ता र आसेपासेलाई धमाधम नियुक्ति दिलाउँदै आएका छन्।

थपिएको कर्मचारीबाट मात्रै निगमलाई मासिक ५० लाखभन्दा बढी आर्थिक भार थपिएको छ। निगममा चारवटा जहाजका लागि अहिले पनि १२ सयभन्दा बढी कर्मचारी रहेका छन्। संकटमा कर्मचारी कटौती गर्ने र खर्च भार घटाउनुपर्ने समयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र मन्त्री किरातीको मिलेमतोमा धमाधम नयाँ कर्मचारी नियुक्त भइरहेका छन्। 

निगमले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। भएका जहाजको मूल्यमा दिनप्रतिदिन ह्रास आइरहेको छ। निगमसँग भएको सम्पत्तिभन्दा ऋण बढी छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको समेत समयमा किस्ता र ब्याज भुक्तानी गर्न सकेको छैन। पछिल्लो समय केही रकम भने तिरेको छ। तर निगम कार्यकारी अध्यक्ष अधिकारी गत आर्थिक वर्ष २०७८/०८९ को सञ्चालन नाफालाई लिएर प्रचार गरिरहेका छन्। यता कर्मचारी सञ्चय कोषले त केही ऋण तिरेर ऋण तिरेको भन्दै प्रचार गरेको बताइसकेको छ। साथै कर्मचारी सञ्चय कोषले अब निगमलाई ऋणसमेत नदिने बताएको छ।

कार्यकारी अध्यक्ष अधिकारीको प्रचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले पनि साथ दिएका छन्। तर पछिल्लो ४ वर्षमा निगमले व्यहोरेको १४ अर्ब घाटाको कुनै कुरा गरेका छैनन्। पछिल्लो चार वर्षमा निगममा १४ अर्ब घाटा भइसकेको छ। निगमको सम्पत्ति पछिल्लो पटक मूल्यांकन गर्दा ५४ अर्ब मात्रै देखिएको छ। अहिले निगमको सबै सम्पत्ति बिक्री गर्ने हो भने ४ अर्ब मात्रै बाँकी रहन्छ।

यता सञ्चयकोष र नागरिक लगानी कोषले भने अर्थ मन्त्रालयमा पटक पटक निगमको ऋण उठाइदिन आग्रह गर्दै आएका छन्। लाखौँ कर्मचारीको संकलित रकम डुब्ने हो कि भन्ने चिन्ता गर्दै आएका छन्। निगमको गतवर्ष २०७८/७९ को सञ्चालन भएर आएको नाफा १ अर्ब मात्रै छ। जुन ऋण र किस्ता नतिरीकन कमाएको पैसा हो। ऋण र किस्ता तथा अन्य खर्च जोड्दा निगमको घाटा अझै ४ अर्ब ७९ करोड रूपैयाँ छ।   

निगमले अहिले आन्तरिकतर्फ दुईवटा जहाजमार्फत उडान गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ चारवटा जहाजले उडान गरिरहेको छ। निगमले अहिले जापानको नारिता, साउदीअरबको रियाद, भारतको दिल्ली, मुम्बई र बैंग्लोर साथै मलेसिया, कतार, दुबई, बैंकक र हङकङमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।


प्रकाशित : बुधबार, भदौ ६ २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend