शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

आइतबार, भदौ ३ २०८०
नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

ढुंगाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ। ढुंगाभरि जेलिएका नागको चित्र देखेर जो कोही पनि अचम्मित हुने गरेका छन्।  हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ।

भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ। पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो।

वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो। प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका-६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए। यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचार्यको भनाइ छ।

'हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ', उनले भने, 'यो संरक्षण तथा प्रचारप्रसार गर्नका लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ। यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ। यसले यो क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो।'

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए। नागछाँगा, गंगाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ।

नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ। 'परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ', उनले भने, 'नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन्। यसको किंवदन्तीको खोजीमा लागेको छौँ।'

दुई वडाको सिमनामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नं २ का  वडाध्यक्ष राजकुमार तामाङले बताए। स्थानीयस्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्यरूपमा चिनाउन नसकिएको उनको भनाइ छ। यसको प्रचारप्रसारका लागि विभिन्न गतिविधिलाई अघि बढाइएको उनले जानकारी दिए। 

ढुंगाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयको भनाइ छ। ढुंगाभरि जेलिएका नागको चित्र देखेर जो-कोही पनि अचम्मित हुने गरेका छन्।  हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ। स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ। यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले सोहीअनुसार विकासको काम अघि बढाउने उनले बताए।

'नागछाँगा एउटा प्रकृतिको उपहार हो', अध्यक्ष राईले भने, 'यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो। यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौँ। यसको पर्याप्त प्रचारप्रसार हुनसकेको छैन। यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ।'

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखांग भञ्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए। स्थानीय स्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए। रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ। पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उनले बताए।

'हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो', उनले भने, 'यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ। यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौँ। पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ।' नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दुरीमा अवस्थित छ। यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८००६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend