शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

६१ दिनदेखि निगमको न्यारोबडी जहाज 'लुम्बिनी' ग्राउन्डेड, पौने १ अर्ब आम्दानी गुम्यो

आइतबार, भदौ ३ २०८०
६१ दिनदेखि निगमको न्यारोबडी जहाज 'लुम्बिनी' ग्राउन्डेड, पौने १ अर्ब आम्दानी गुम्यो

काठमाडौं- नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीसहित व्यवस्थापनको चरम लापरबाहीका कारण एउटा जहाज ६१ दिनदेखि ग्राउन्डेड छ।

ग्राउन्डेड न्यारोबडी ए ३२० कल साइन नाइन एन एकेएक्स 'लुम्बिनी' जहाज उडानका लागि इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया अझै पूरा भएको छैन। जसका कारण जहाज ६१ दिनदेखि ग्राउन्डेड छ।जहाज ग्राउन्डेड हुँदा निगमको उडान तालिकामा समेत असर परेको छ। उडान तालिकामा मात्रै होइन निगमले दैनिक ९६ हजार डलर आम्दानीसमेत गुमाइरहेको छ।

गएको जुन २० देखि ग्राउन्डेड जहाजको इन्जिन मर्मत त कुरै छोडौँ उडानका लागि इन्जिन व्यवस्थापन समेत हुने सकेको छैन। जहाज ग्राउन्डेड भएको एक महिनापछि मात्रै इन्जिन भाडामा लिने प्रक्रिया सुरु भएको थियो। जुन २० मा ग्राउन्डेड जहाज उडानका लागि इन्जिन भाडामा लिने टेन्डर २२ जुलाईमा मात्रै भएको थियो। तर उक्त टेन्डरको अहिलेसम्म निर्णय हुन सकेको छैन।

इन्जिन मर्मतको लागि भएको टेन्डरसमेत फाइनल भएको छैन। जसका कारण जहाज अझै केही दिन ग्राउन्डेड हुने निश्चित छ।  इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कम्पनी छनोटमा कमिसनका लागि बार्गेनिङ भइरहेको निगम स्रोतको दाबी छ। 

कमिसनको बार्गेनिङ नमिल्दा नै २०२२ को मार्चमा इन्जिन भाडामा लिएर उडान भएको जहाजको इन्जिन मर्मतपछि त्यही इन्जिन भाडा सम्झौता बढाएर पनि तत्काल उडान गर्न सकिने थियो। तर कमिसनको कुरा नमिल्दा एमटीयूसँग पहिले भाडामा लिएको इन्जिन भाडा सम्झौता समाप्त गरिएको निगम स्रोतको दाबी छ।

समयमा नै इन्जिन मर्मत तथा भाडामा नलिँदै निगमले दैनिक सरदर १२ घण्टाको उडानबाट हुने आम्दानी गुमाएको छ। निगमको एयर बस ३२० जहाजको प्रतिघण्टा चार्टर रेट ८ हजार डलर छ। सोही हिसाबमा दैनिक १२ घण्टाको ९६ हजार डलर आम्दानी निगमले गुमाइरहेको छ।

६१ दिन जहाज ग्राउन्डेड हुँदा सोही हिसाबमा निगमले ५८ लाख ५६ हजार डलर आम्दानी गुमाइसकेको छ। नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको एक अमेरिक डलरको भाउ १३२.२७ रुपैयाँअनुसार ७८ करोड ४ लाख रुपैयाँभन्दा बढी आम्दानी निगमले गुमाएको छ। तर विभागीय मन्त्री सुदन किरातीले निगमको ग्राउन्डेड जहाज उडानका लागि कुनै निर्देशन दिएका छैनन्। 

यस विषयमा निगम प्रवक्ता रमेश पौडेललाई सोध्दा उनले इन्जिन मर्मत तथा भाडामा लिने विषय अन्तिम चरणमा पुगेको र केही दिनमै समस्या समाधान हुने बताए। 


प्रकाशित : आइतबार, भदौ ३ २०८०००:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend