शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अन्नपूर्णको कर्पोरेट टावर र सिम्रिक एयरलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

बिहीबार , साउन ३२ २०८०
अन्नपूर्णको कर्पोरेट टावर र सिम्रिक एयरलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावर र सिम्रिक एयरलाई स्पष्टीकरण सोधेको छ। भवन निर्माण गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिएको नदेखिएकाले तीन दिनभित्र जवाफ पेस गर्ने गरी प्राधिकरणले स्पष्टीकरण सोधेको हो। 

प्राधिकरणका निर्देशक बाबुराम पौडेलले बुधबार पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका छन्। उक्त पत्रको बोधार्थ काठमाडौं महानगरपालिकालाई दिइएको छ। नेटवर्कको भवन वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत रहेका क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा छ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सम्पूर्ण उडान तथा अवतरणहरूलाई सुरक्षित बनाउन आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान छ।

तर अन्नपूर्ण नेटवर्कले भवन बनाउनुअघि प्राधिकरणबाट स्वीकृत लिएको नदेखिएकाले प्राधिकरण ऐन २०५३ को दफा ७ को (घ) बमोजिम कारबाही किन नगर्ने भनेर तीन दिनभित्र प्राधिकरणमा जवाफ पेस गर्न निर्देशन दिएको हो।

प्राधिकरणले यसअघि विमानस्थलनजिक रहेका ठूला व्यावसायिक भवनले उडान सुरक्षामा पारेको असर अध्ययन गर्न समिति गठन गरेको थियो। हवाई सुरक्षा विभागका उपनिर्देशक श्रीहरि भट्टको संयोजकत्वमा समिति गठन भएको थियो।

यससँगै प्राधिकरणले क्याप्टेन थापालाई बुधबार नै २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ।

अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशनरप्रसारण गरेको प्राधिकरणको आरोप छ।

सरकारको प्रचलित कानून तथा नेपाल नागरिक प्राधिकरण ऐन हुबहु परिपालना गर्ने प्रतिबद्धता जनाइ थापा सिम्रिक एयर प्रालिको अध्यक्षको हैसियतमा रहेको प्राधिकरणले स्मरण गराएको छ।

त्यस्तै प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (९) को महानिर्देशकले उडान सुरक्षाका दृष्टिले भौगलिक विकटताका आधारमा विमानस्थलमा वायुयान सञ्चालनका लागि विशेष शर्तहरू तोक्नसक्ने प्रावधानबमोजिम नेपाली आकाशमा बढोत्तरी हुँदै गएको हवाई घटनारदुर्घटना कम गर्ने उद्देश्यले उडान सुरक्षा अभिवृद्धि गर्न गरेको निर्णयहरूको थापाले अन्नपूर्ण मिडिया नेटवर्कमार्फत शृंखलाबद्ध रूपले ठाडो बर्खिलाप तथा अपव्याख्या गरेको प्राधिकरणले जनाएको छ।

यस्ता क्रियाकलापले नेपालको उडान सुरक्षा नियमन प्रभावकारी कार्यान्वयनमा गम्भीर प्रभाव परेको भन्दै प्राधिकरणले थापालाई स्पष्टीकरण सोधेको हो।


प्रकाशित : बिहीबार , साउन ३२ २०८००४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend