शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हवाई सुरक्षामा भ्रम सिर्जना गरेको भन्दै सिम्रिक एयरका अध्यक्ष थापालाई स्पष्टीकरण सोध्ने प्राधिकरणको तयारी

रामेश्वर थापाको अध्यक्ष पद खारेज हुनसक्ने

बुधबार, साउन ३१ २०८०
हवाई सुरक्षामा भ्रम सिर्जना गरेको भन्दै सिम्रिक एयरका अध्यक्ष थापालाई स्पष्टीकरण सोध्ने प्राधिकरणको तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसममा पनि उडान गर्न पाउनुपर्ने विषयमा निरन्तर लबिङ गरेको भन्दै सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई स्पष्टीकरण सोध्न लागेको हो।

काठमाडौं- नागरिक उड्डयन नियमावलीविपरीत कार्य गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। खराब मौसममा पनि उडान गर्न पाउनुपर्ने विषयमा निरन्तर लबिङ गरेको भन्दै कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई स्पष्टीकरण सोध्न लागिएको हो।

अध्यक्ष  थापालाई  नेपाल सरकारको प्रचलित कानून तथा नेपाल नागरिक प्राधिकरण ऐन, २०५३ र सोअन्तर्गत बनेका नियमावली तथा अन्य नियामकीय मापदण्डहरुको हुबहु परिपालना गर्ने प्रतिबद्धता जनाइ एयरलाइन्स सञ्चालन गरेता पनि बर्खिलापमा काम गरेको भन्दै स्पष्टीकरण सोध्न लागिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' हुनेगरी हवाई सुरक्षामै धम्का पुग्नेगरि मिडियाको दुरुपयोग गरेको आरोपसमेत प्राधिकरणको छ।  

प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (क) को 'महानिर्देशकले उडान सुरक्षाको दृष्टिले भौगोलिक विकटताका आधारमा विमानस्थलमा वायुयान सञ्चालनका लागि विशेष सर्तहरु तोक्न सक्ने' बारे समेत स्मरण गराएको छ।

नेपाली आकाशमा बढ्दै गएको हवाई घटना र दुर्घटना कम गर्ने उद्देश्यले उडान सुरक्षा अभिवृद्धि गर्न गरिएको निर्णयहरुको शृङ्खलाबद्ध रुपले ठाडो बर्खिलाप तथा अपव्याख्या गरी आफ्नो कम्पनीको नाममा प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरुको नकारात्मक अतिरञ्जना सिर्जना गर्ने काम पूर्वाग्रहपूर्ण रहेको समेत प्राधिकरणले ठहर गरेको छ।

नेपालको उडान सुरक्षा नियमनको प्रभावकारी कार्यान्यनमा गम्भीर प्रभाव परेको हुँदा वायुसेवा कम्पनीको अध्यक्षको जिम्मेवारीबाट किन नहटाउने भन्दै २४ घण्टाभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेस गराउने तयारी प्राधिकरणले गरेको छ।


प्रकाशित : बुधबार, साउन ३१ २०८०१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend