शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

आइतबार, साउन २८ २०८०
हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

विश्वका विभिन्न देशमा हात्तीमाथि गरिने सफारी राम्रो मानिदैन। कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ।

चितवन- पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ। हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जंगली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन्।  

विश्वका विभिन्न देशमा हात्तीमाथि गरिने सफारी राम्रो मानिदैन। बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ। हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेञ्चुरी भनिन्छ। कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ।

सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन्। एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ।

सौराहाको सपना भिलेजका सञ्चालक ध्रुव गिरीले ६ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन्। हात्ती सफारी बन्द गरेर उनले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन्। उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ। यो प्याकेजअन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि-पछि घुम्छन्। उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन्। गिरीका अनुसार यो प्याकेजबापत पर्यटकसँग तीन हजार पाँच सय रूपैयाँ लिइन्छ। हात्ती सफारी गर्दा दुई हजार पाँच सय रूपैयाँ मात्रै आउने भन्दै उनले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए।

गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहेका छन्। दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ। यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ। बिहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन्। उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन्। उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन्। यो प्याकेजका लागि प्रति पर्यटकले १५ हजार रूपैयाँ लाग्छ।

समूहमा काम गर्न सबै इच्छुक नभएपछि विगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ। 'हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन। त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ', उनले भने। सौराहाका अन्य व्यवसायीले संगठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन्।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो। हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उनले त्यसले पूर्णता भने पाउन नसकेको बताए। तत्कालीन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागु भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ।

'हात्तीबिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ', उनले भने। हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको उनी बताउँछन्।

संघका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उनको भनाइ छ। जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो। थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ। उनले भने, 'हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ।'

सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ। संस्थाअन्तर्गत हाल ३० वटा हात्ती छन्। संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको संख्या ४२ वटा छ। कोरोना महामारी सुरु हुनुअघि हात्तीको संख्या ८० थियो। संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो संख्या घटेर ३० मा सीमित भएको उनको भनाइ छ।

व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उनको भनाइ छ। एउटा हात्ती पाल्न मासिक करिब एक लाख २० हजार रूपैयाँ खर्च हुने खतिवडाले जानकारी दिए। एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा एक करोड ५० लाख रूपैयाँ पर्छ। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend