शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु, दुई करोड रूपैयाँ लगानी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
सिन्धुलीमा प्याराग्लाइडिङ सुरु, दुई करोड रूपैयाँ लगानी

प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ। यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ।

कमलामाई- सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ। यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो। बैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो।

कमलामाई नगगरपालिका-६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र दुई करोड रूपैयाँको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए। 

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ। पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शंकर थापा मगरले उडान भर्ने छन्। प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति छ हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको छ। जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि एक हजार रूपैयाँ छुट गरिएको छ। 

प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ। 

प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ। प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ। प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ। यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ।

यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन्। यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २६ २०८०११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend