बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

पश्चिम तराईमा रासायनिक मलको अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २८ २०७८
images
पश्चिम तराईमा रासायनिक मलको अभाव

पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ। यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ।

images
images

सुदूरपश्चिम- हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ।

images
images
images

मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन्। वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन। पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो।

images
images

पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ। यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ। 'कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन', धनगढी उपमहानपगरपालिका-१३ का कृषक गुलाब रानाले भने, 'डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ।'

images
images

मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन्। पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ।  सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ।

मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले जानकारी दिए। उनले भने 'चौध/पन्ध्रपटक बोलपत्र आह्वान गर्दा पनि कोरोनाका कारण कसैको निवेदन नपरेको भन्ने छ, यसले गर्दा समयमै मल आपूर्ति भएन।'

भैरहवा नाकामार्फत रासायनिक मल धनगढीका लागि ढुवानी हुन लागेकाले केही दिनमा मल आइपुग्ने उनले बताए। 'वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ', कैलालीका  किसान लोकराज ओझाले भने। रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ।

कम्पनीले चालु वर्षको साउनदेखि कात्तिकसम्ममा युरिया दुई हजार ३९४ मेट्रिक टन, डिएपी ८० मेट्रिक टन र पोटास ४३ मेट्रिक टन बिक्री गरेको छ। कार्यालयले यस वर्ष छ हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र ३०० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखेको छ। सरकारको अनुदानित मलमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बिक्री वितरण हुँदै आएको छ। कर्पोरेशनमा पनि डिएपी र युरिया मलको मौज्दात सकिएको छ।

कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्फेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री वितरणको व्यवस्था गर्न कर्पोरेशनको धनगढी शाखालाई रु एक करोड बजेट उपलब्ध गराएको थियो।

यस सम्बन्धमा भएको सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट तोकिएको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ। डिएपी र युरिया मलको विकल्पमा एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल प्रयोग गर्न सकिने भए पनि कृषकबाट सो मलको माग खासै नआउने गरेको बताइएको छ।

कर्पाेरेशनाले सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट ९ सय ३० रुपैयाँ, जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट ९ सय रुपैयाँ बिक्री मूल्य निर्धारण गरेको छ। प्रदेशमा बर्सेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend