शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यवसायीका लागि चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २४ २०८०
व्यवसायीका लागि चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं- पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना  गरिएको थियो।

नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सञ्चालित छ महिने चिनियाँ भाषा तालिम सम्पन्न भएको हो। तालिममा पर्यटन बोर्डका कर्मचारीसहित ४० पर्यटन व्यवसायीको सहभागिता रहको थियो। तालिमको समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले चिनियाँ भाषासम्बन्धी तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने बताए।

नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै उनले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनियाँ भाषा तालिम सञ्चालन गर्न लागिएको र त्यसका लागि दूतावासबाट सहयोगको अपेक्षा गरे।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले भाषा तालिमले भाषाको मात्र नभई चिनियाँ कला संस्कृतिका बारेमा जानकारी आदानप्रदान भएको बताए। उनले पर्यटन बोर्डसँगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा  धनञ्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने बताए। उनले पर्यटन प्रवर्द्धनका लागि दूतावाससँगको सहकार्यमा विभिन्न कार्यक्रम भइरहेको जानकारी दिँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताए। तालिम समापनका अवसरमा सहभागीले विभिन्न चिनियाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए।


प्रकाशित : बुधबार, साउन २४ २०८००४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend