शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नागढुंगा-मुग्लिन सडक सुधार र विस्तार प्रक्रिया अघि बढ्यो

शुक्रबार, कात्तिक २६ २०७८
नागढुंगा-मुग्लिन सडक सुधार र विस्तार प्रक्रिया अघि बढ्यो
फाइल तस्बिर।

नौबिसे-नागढुंगा, नागढुंगाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा निर्माण अघि बढाइने आयोजनाले जनाएको छ। 

काठमाडौं- काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो। 

करिब ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा विभाजन गरेर निर्माण गर्ने योजना बनाइएको छ। यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले जानकारी दिए। यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ। सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। 

तीन प्याकेजमध्ये कुनै मूल्यांकन त कुनै मूल्यांकन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए। नागढुंगा-नौबिसे र नौबिसे-मलेखुमा आवेदनका लागि आगामी मंसिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मल्यांकन भइरहेको छ। नौबिसे-नागढुंगा, नागढुंगाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा निर्माण अघि बढाइने आयोजनाले जनाएको छ। 

सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ। परामर्शदाता छनोटको काम दुई महिनामा गरिसकिने बताइएको छ। सडक विभागले सोही सडकमा जोडिने मुग्लिन-नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ-बुटवल सडक निर्माणाधीन छ। 

यी सडक ४ देखि ६ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा-मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ। यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। 

बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ। 

अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ। निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ। सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनःनिर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने गरि ठेक्का लगाइने प्रमुख कार्कीले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend