शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले जहाजभित्र पसल सञ्चालन गर्ने पाउने, के बिक्री गर्न पाइन्छ, के पाइँदैन?

शनिबार, साउन ६ २०८०
अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले जहाजभित्र पसल सञ्चालन गर्ने पाउने,  के बिक्री गर्न पाइन्छ, के पाइँदैन?

प्रचलित कानूनले बन्देज गरेका सामग्री बिक्रीवितरण गर्न पाइने छैन। सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर र यससँग सम्बन्धित उपभोक्ता हक हित तथा अधिकारका विषयमा जिम्मेवार हुनुपर्ने विषय पनि कार्यविधिमा छ।

काठमाडौं- नेपालका अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीहरुले उडानको बखतमा जहाजभित्र ड्युटी पे सप सञ्चालन गर्न पाउने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'अन बोर्ड ड्युटी पेड स्टोर' सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेको हो।

वायु सेवाको अतिरिक्त आम्दानीमा वृद्धि गराउँदै यसलाई थप सबल, सुदृढ र दिगो बनाउनका लागि र राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने उद्देश्यसहित कार्यविधि जारी भएको मन्त्रालयको भनाइ छ। सेवा सञ्चालनका लागि वायु सेवा कम्पनीले मन्त्रालयबाट अनुमति लिनुपर्छ। अनुमतिका लागि मन्त्रालयमा सेवा सञ्चालनको आर्थिक तथा प्राविधिक सम्भाव्यतासहितको प्रतिवेदन पेस गर्न आन्तरिक सञ्चालन कार्यविधि समेत पेस गर्नुपर्ने छ।

यसैगरी कार्यविधिमा विमानस्थल सुरक्षा जाँचसम्बन्धी व्यवस्था पूर्ण रुपमा लागु गर्नुपर्ने छ। प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामानहरु सिल गरी सम्बन्धित विमानस्थलले तोकिदिए बमोजिम जाँच गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

सामान राख्ने प्रयोजनका लागि विमानस्थल क्षेत्रमा राखिएको गोदामको सुरक्षासम्बन्धी व्यवस्था विमानस्थलले तोकिदिएबमोजिम हुनेछ। कार्यविधिमा यस्तो सेवा सञ्चालन गर्ने वायुसेवा संस्थाले बिक्री गर्ने सामग्रीहरुको सूची सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नुअगावै पूर्वस्वीकृति लिनु पर्नेछ।

हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामग्रीहरुको विवरण, बिक्री वितरणको विवरण तथा यसरी बिक्री गर्दा भएको आम्दानीको विवरण सम्बन्धित वायुसेवाले जुनसुकै समयमा पेस गर्न सक्नेगरि अद्यावधिक राख्नुपर्नेछ। यसैगरी प्रत्येक उडानमा बिक्रीका लागि पठाइने सामग्रीहरु तथा उडान सम्पन्न भएपश्चात गोदाममा फिर्ता ल्याइने सामानको मौज्दातको विवरण पेस गर्ने ढाँचा तथा प्रक्रिया सम्बन्धित भन्सार कार्यालयले तोकिदिए बमोजिम हुने समेत कार्यविधिमा उल्लेख छ।

तर प्रचलित कानूनले बन्देज गरेका सामग्री बिक्रीवितरण गर्न पाइने छैन। सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर र यससँग सम्बन्धित उपभोक्ता हकहित तथा अधिकारका विषयमा जिम्मेवार हुनुपर्ने विषय पनि कार्यविधिमा छ।

यसैगरी बिक्रीपश्चात यात्रुलाई भुक्तानी भएको रकम स्पष्ट उल्लेख भएको आधिकारिक बिल जारी गर्नुपर्ने छ। यस्तो सेवा सञ्चालन सम्बन्धमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, मूल्य अभिवृद्धि कर ऐन, २०५२ आयकर ऐन २०५८ र सोअन्तर्गत बनेका नियमावली, कार्यविधि एवं निर्देशिकाहरुमा भएका व्यवस्थाहरु र यस कार्यविधिले तोकेका र प्रचलित कानूनको पूर्ण पालना गर्नुपर्ने  विषय समेत समावेश गरिएको छ।

सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रुपमा मन्त्रालयमा पेस गर्नुपर्ने छ भने नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को पूर्ण पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।


प्रकाशित : शनिबार, साउन ६ २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend