शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मौलाकाली केवलकारको इभिनिङ अफर,आधा सस्तोमा टिकट

मंगलबार, साउन २ २०८०
मौलाकाली केवलकारको इभिनिङ अफर,आधा सस्तोमा टिकट

काठमाडौं- मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ् अफर ल्याएको छ। यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ।

 यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए। हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य ५ सय ५० रुपैयाँ कायम छ। यस अफर अन्तर्गत अब यात्रुहरुले २ सय ७५र रुपैयाँमा नै दुइतर्फी यात्रा गर्न पाउने भएका छन्।

यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा  यात्रा गर्ने अवसर मिल्नेछ। साथै दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्नेछ। यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृध्दि हुने अपेक्षा कम्पनीले लिएको छ। 

 दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने विश्वास लिएको केवलकारका स्टेशन मेनेजर पौडेल बताउँछन्। मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृध्दि भएको छ।

 धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छ। गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ। 

धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको छ। शनिबार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केवलकार संचालन हुने गरेको छ।


प्रकाशित : मंगलबार, साउन २ २०८०१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend