शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुलाकी सडक : सुदूरपश्चिममा निर्माणको गति सुस्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
हुलाकी सडक : सुदूरपश्चिममा निर्माणको गति सुस्त

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन।

कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ।

विसं २०७३ फागुनमा १ अर्ब २० करोड रुपैयाँ लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ। पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार ६ सय मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ।

तीस महिनामा काम सक्नेगरी तीन वटा निर्माण कम्पनीले निर्माण थाले पनि दुई पटक कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पद्मबहादुर मडैले बताए।

'तीन वटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ', उनले भने, 'विविध कारण आइलाग्दा निमार्णमा ढिलाइ भयो।' यहाँको पुनःबास र बेलौरीदेखि बेल्डाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ। सो सडक निर्माणमा गति दिन पटक/पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन्।

त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ। लम्की-टीकापुर खण्डको पहिलो प्याकेज बाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ। लम्की-टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीन वटा प्याकेजमा विभाजन गरिएको छ। पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ। 'तीन वटा प्योकजको लागत १ अर्ब १० करोड रुपैयाँ छ', इञ्जिनीयर मडैले भने, 'निर्माणसक्न तीस महिनाको समय दिइएको छ।' 

उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा बीस प्रतिशत भौतिक प्रगती भएको उनको भनाइ छ। त्यसैगरी धनगढी-भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीन वटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ। उक्त तीन वटै प्याकेजको काम स्वच्छन्द-जोशी निर्माण सेवाले गरिरहेको मडैले जानकारी दिए। कैलालीको कान्द्रा नदीबाट सत्तीसम्म १३ किलोमिटर हुलाकी सडकको १५ प्रतिशत काम सकिएको इन्जिनियर मडैको भनाइ छ। 

उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निमार्णको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए। 'त्यो खण्डमा करिब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुरु भइसकेको छ', उनले भने, 'मोहना पुलदेखि क्याम्पस रोडसम्मको साँढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ।' रासस


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend