शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतिकूल मौसमबीच छोटो रुट लिने प्रयास? कसरी दुर्घटनाग्रस्त भयो मनाङ एयरको हेलिकप्टर?

मंगलबार, असार २६ २०८०
प्रतिकूल मौसमबीच छोटो रुट लिने प्रयास? कसरी दुर्घटनाग्रस्त भयो मनाङ एयरको हेलिकप्टर?

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा एक पाइलट र पाँचजना यात्रु सबैले ज्यान गुमाएका छन्। हेलिकप्टरमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए। 

मृतक सबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइसकिएको छ। हेलिकप्टर दुर्घटनाको विषयमा अध्ययन गर्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वृद्धिसागर लागिछानेको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। दुर्घटनाको कारणलगायतका विषय जाँचबुझपछि नै आउने छ। प्रारम्भिक रुपमा जहाज रुखमा ठोक्किएर दुर्घटना भएको भनिएको छ।

दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर सोमबार राति लुक्लामा बसेको थियो। मंगलबार बिहान लुक्लाबाट उडेर सुर्केमा अवतरण गरेको थियो। सुर्केमा रिफिलिङ गरेर हेलिकप्टर माउन्टेन उडानमा गएको थियो। माउन्टेन उडानपछि पुन: सुर्केमा नै अवतरण गरी रिफिलिङ गरेर काठमाडौंका लागि उडान भरेको थियो।

काठमाडौं फर्कन १० बजेर ५ मिनेटमा उडान भरेको हेलिकोप्ट १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो। सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्था सोलुखुम्बुको लिपुपिके गाउँपालिका-५ लामाजुरामा भेटिएको थियो। 

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुनु केहीअघि सिता एयरको जहाज पनि त्यही रुटबाट काठमाडौं आएको थियो। सिता एयरका पाइलटले मनाङ एयरको हेलिकप्टर उडान गरिरहेका पाइलट गुरुङलाई १३ हजार ५ सय मिट फिटको उचाइबाट आउन भनेको अडियो प्राधिकरणले अध्ययन गरिरहेको छ। तर पाइलट गुरुङ १२ हजार ५ सय फिटको उचाइबाट आएको प्राधिकरण स्रोतले बताएको छ।

लुक्ला रुटबाट काठमाडौं आउँदा सबैभन्दा छोटो रुट लामाजुरा रुट हो। यो रुटबाट आउँदा अन्य रुटबाट आउनभन्दा करिब २० मिनेट छोटो हुन्छ। यो रुटबाट उडान गर्न सबैभन्दा सफा मौसम चाहिन्छ। स्रोतका अनुसार हेलिकप्टरले सुर्केबाट उडान सुरु गर्दै गर्दा र लामाजुरा रुटबाट प्रवेश गर्ने समयमा मौसममा खराबी आएको देखिन्छ।

सिता एयरका पाइलटले १३ हजार ५ सय फिटबाट उडान गर्न निर्देशन दिँदादिँदै पनि मनाङ एयरको हेलिकप्टरका पाइलटले १२ हजार  २ सय ३४ फिटबाट उडान गरिरहेको देखिन्छ। 

इनरुट खराब मौसममा हेलिकप्टर छिरेपछि पास हुन नसकेको प्राधिकरण स्रोतको भनाइ छ। हेलिकप्टर उडान बिन्दुबाट २३ किलोमिटर अगाडि आएपछि दुर्घटना भएको थियो। 


प्रकाशित : मंगलबार, असार २६ २०८०१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend