बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

पहिरोको उच्च जोखिममा रामतोला बस्ती, स्थानीय घर छोड्न बाध्य

images
सोमबार, असार २५ २०८०
images
images
पहिरोको उच्च जोखिममा रामतोला बस्ती, स्थानीय घर छोड्न बाध्य
images
images

ढोरपाटन- गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो। पहिरोले सिंगो गाउँ नै जोखिममा पर्‍यो। स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए। बर्खा सकिएपछि पहिरोको जोखिममा रहेकै घरमा उनीहरु फर्किए।

images
images
images

यसवर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन्। गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यसवर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ।पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताए। उनका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन्।

images
images

यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिरोको जोखिममा छन्। यसअघिका पहिरोले गाउँमा भएका दुई वटा खानेपानीको ट्यांकीसमेत बगाउँदा खानेपानीको समस्या थियो। 'केही समय खानेपानीको व्यवस्थापन भए पनि अहिले फेरि उस्तै जोखिम परेको छ। घर, गोठ र जग्गा जमिन पहिरोको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीय बर्खाभरिका लागि गाउँ छोड्न बाध्य भएका छन्', शर्माले भने।

images
images
images

हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उनको भनाइ थियो। उनले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरुको घरमा बस्न थालेको बताए। अहिले पनि वस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिए।

बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको बताउँछन्। पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिरोले घर गोठमा क्षति पुगेको थियो।

'पोहोर साल पहिरोले भएभरको बारी बगायो। घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरुको घरमा बसेका छौँ', शर्माले भने, 'उनीहरु आएर घर खाली गर्न भने कहाँ जाने, के गर्ने, भएको थोरै बारीमा काम गरेर परिवार चलाएको छु। बारी पनि यस वर्ष बगाउँछ जस्तो छ। गाउँ छोडेर अन्यत्र जाउँ भने जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ।' चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो।

पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले २५ हजार रूपैयाँ र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोखे। उनका अनुसार गतवर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ।

सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिएका छन्। गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो। घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उनले बताए। गतवर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उनले सुनाए।

'यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पुर्‍याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासी पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,' क्षेत्रीले भने, 'अहिले पनि पोहोरको  जस्तै पहिरो गयो भने यो गाउँ रहँदैन। बर्खा सुरु भएसँगै माथिको पहाड झर्न थालेको छ, यो पहाड झर्‍यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरु बगाउँछ।' रासस


प्रकाशित : सोमबार, असार २५ २०८००७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend