शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आँबुखैरेनीमा एभोकाडोको व्यावसायिक खेती

मंगलबार, असार १९ २०८०
आँबुखैरेनीमा एभोकाडोको व्यावसायिक खेती

तनहुँमा पाँच हेक्टर जमिनमा बिरुवा लगाएर खेती सुरुवात गरिएको र यस वर्ष अझै विस्तार गर्दै लैजाने योजना रहेको छ।

तनहुँ- 'एक वडा एक उत्पादन' कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ। आँबुखैरेनी-२ मा ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा तथा सामग्री वितरण गरिएको हो।

उक्त बिरुवा रोपेको तेस्रो वर्षबाट उत्पादन दिन सुरु हुने र मूल्य पनि राम्रो पाइने भएकाले यस खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुवात गरिएको हो। समुन्द्री सतहबाट दुई सय सयदेखि एक हजार छ सय मिटर उचाइमा यसको खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए।

तनहुँमा पाँच हेक्टर जमिनमा बिरुवा लगाएर खेती सुरुवात गरिएको र यस वर्ष अझै विस्तार गर्दै लैजाने योजना रहेको छ।

तिवारीका अनुसार गत वर्ष केन्द्र आफैले दुई हजार बिरुवा उत्पादन गरेर र बाहिरबाट थप दुई हजार बिरुवा मगाएर चार हजार बिरुवा कृषकलाई वितरण गरेको थियो। यस वर्ष पाँच हजार बिरुवा वितरण गर्ने योजना रहेको छ। कृषकलाई ७५ प्रतिशत अनुदानमा प्रतिबिरुवा २५ रूपैयाँ मा वितरण गरिएको हो।

पहाडी भूगोलमा हुने एभोकाडोको खेती गर्न सकिने केन्द्रले जनाएको छ। तिवारीले भने, 'यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ।'

एभोकाडो खेती गरेर बाँझो जमिनको सदुपयोग गर्न सकिन्छ। प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडो उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीका लागि अति नै लाभादायक मानिन्छ। एभोकाडो म्याग्दीमा भित्रिएको नयाँ जातको फलफूल हो। नेपालमा मेक्सिकन, ग्वाटेमिलन र भारतीय जातको एभोकाडो खेती गरिने छ।

एभोकाडो मेक्सिको र अमेरिकामा उत्पत्ति भएको विश्वास गरिन्छ। धनकुटाको पाख्रिबासमा २०२५ सालमा फल खान ल्याएको दानाको बियाँ उम्रिएपछि विस्तार भएको पाइन्छ। यो फलको थोकमा प्रतिकिलो दुई सय र फुटकर तीन सय ५० देखि चार सय रूपैयाँसम्म मूल्य पर्दछ। यसको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ।

ठूला होटल, पर्यटक, विदेशबाट आएका र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलका रूपमा उपभोग गर्ने गर्दछन्। कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ। कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८०१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend