बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

४९ अर्बभन्दा बढी को लागतमा मदन भण्डारी विश्वविद्यालय निर्माण हुने

बुधबार, जेठ २४ २०८०
४९ अर्बभन्दा बढी को लागतमा मदन भण्डारी विश्वविद्यालय निर्माण हुने

विश्वविद्यालयको भवनमा २ सय भन्दा बढी कोठाहरु हुने छन्। प्रस्तावित आयोजनालाई ४१.२९ हेक्टर वनको जग्गा आवश्यक पर्नेछ।

काठमाडौं- मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको लागत तय भएको छ। यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँ हुने अनुमान गरिएको छ।

सार्वजनिक राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सो लागत अनुमान उल्लेख छ। यो विश्वविद्यालय एक अनुसन्धानमुखी विश्वविद्यालय हो। नयाँ ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य रहेको छ।

सरकारले २३ अप्रिल २०१९ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विश्वविद्यालय पूर्वाधार समिति गठन गरेको थियो।

भवनमा २ सय भन्दा बढी कोठाहरु हुने छन्। प्रस्तावित आयोजनालाई ४१.२९ हेक्टर वनको जग्गा आवश्यक पर्नेछ।

madhan a.jpg

विश्वविद्यालय निर्माणका लागि वन फडानी भने हुने छैन। विश्वविद्यालयको भवन निर्माण क्षेत्र २ लाख २३ हजार वर्गमिटर रहेको छ। यो विश्वविद्यालय बागमती प्रदेशको मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहने छ।

काठमाडौंबाट २६.५ किलोमिटर चन्द्रागिरी हुँदै र ७० किलोमिटर नौबिसे–बाइरोडको बाटोबाट पुग्न सकिन्छ। विश्वविद्यालयको भवन आरसीसी बन्ने छ। वार्षिक ४ हजार विद्यार्थीले यहाँ अध्ययन गर्न सक्नेछन्। 

madhan b.jpg

आयोजनाका मुख्य विशेषताहरुमा शैक्षिक भवन, कम्युनल भनव, छात्रावास, ६ सय ७ कर्मचारीका लागि आवास, ४० कोठा भएको गेष्ट हाउस, २५ शय्याको अस्पताल, विद्यालय, सडक, खानेपानी आपूर्ति र ढक निकास, विजुली आपूर्ति, विद्युत र सञ्चार सञ्जाल रहेको छ।

आयोजनाका लागि कुल ५०.५२ हेक्टर जग्गा आवश्यक पर्नेछ। विश्वविद्यालयले आन्तरिक खपतका लागि ५ सय किलोवाटको सौर्य ऊर्जा र ६ सय किलोवाटको पम्म स्टोरेज प्लान्टको स्थापना गर्ने कार्यक्रम पनि समावेश भएको छ।  


प्रकाशित : बुधबार, जेठ २४ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend