शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदको जोड 

मंगलबार, जेठ २३ २०८०
आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदको जोड 

उद्योग, खानी, कृषि, पर्यटन, सडक पूर्वाधार, विपद् व्यवस्थापनका बारेमा बजेटले प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ थियो।

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनीहरुले रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको समुचित प्रयोगमा ध्यान दिनुपर्ने बताए।

उद्योग, खानी, कृषि, पर्यटन, सडक पूर्वाधार, विपद् व्यवस्थापनका बारेमा बजेटले प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ थियो। उनीहरुले निर्यात बढाउन र आयात घटाउने नीति लिइनुपर्ने बताए। सांसदहरुले छोटी भन्सार कार्यालयको निर्माण र साधारण खर्च घटाउनका लागि उच्च पदस्थ सरकारी पदाधिकारीको तलबमा केही प्रतिशत रकम कटौती गर्न सुझाव दिए।

सांसद माधव सापकोटाले कृषि क्षेत्रप्रति किसानलाई आकर्षित गर्न सक्नुपर्ने बताए। 'हाम्रो कृषि किन निर्वाहमुखी मात्र भइरहेको छ, कृषि पेसा अँगाल्नुमा नगारिकले किन गर्व गर्दैनन्, यसको कारण खोज्नुपर्छ', उनले भने। सांसद भानुभक्त जोशीले बजेटमा विकास खर्च कम र साधारण खर्च धेरै बढेको भन्दै साधारण खर्च कटौतीतर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद अब्बदुल खानले सीमा नाकामा छोटी भन्सारको निर्माण गरेर चुहावट रोक्दै राजस्वमा वृद्धि गर्न सुझाव दिए। सांसद रामप्रकाश चौधरीले भूमिहीन दलित, सुकुम्वासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा जग्गा बिक्री गर्न नपाइने व्यवस्था गर्न सुझाव दिए।

सांसद विराजभक्त श्रेष्ठले बजेटले मुलुकको प्राथमिकता किटान र कृषिको व्यवसायिकीकरणमा ध्यान दिन नसकेको बताए। सांसद बुद्धिमान तामाङले साधारण खर्च घटाउने ठोस योजना बजेटले प्रस्तुत गर्न नसकेको बताए।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८०१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend