सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतले रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर नेपाललाई बुझायो

बिहीबार , जेठ १८ २०८०
भारतले रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर नेपाललाई बुझायो
सांकेतिक तस्बिर।

काठमाडौं- रक्सौलदेखि काठमाडौंसम्म निर्माण हुने रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भारतले नेपाललाई बुझाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय पक्षले प्रतिवेदन बुझाएको हो। 

भारतको कोंकड रेलवे कर्पोरेसनले यो रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको थियो। २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको लागत ३ खर्ब रुपैयाँ अनुमान गरिएको थियो। तर पछिल्लो डीपीआरअनुसार आयोजनाको लागत करिब २० अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। 

प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर सुरुङ बनाउन ३ अर्ब ७० करोड रुपैयाँ लाग्ने उल्लेख छ। यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब लाग्ने अनुमान गरिएको थियो। 

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो। सोहीअनुसार भारतको कोंकण रेलवे कर्पोरेसनले यसको डीपीआर तयार पारेको हो। उक्त एमओयूअनुसार ६ महिनामा अध्ययन सकेर प्रतिवेदन बुझाउने र त्यसलगत्तै डीपीआर तयार पर्ने तय भएको थियो। केही ढिलो गरी कोंकड डीपीआर तयार पारेको हो। 

२०७६ भदौमा रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। रक्सौल रेलमार्गको दुरी १ सय ४० किलोमिटर हुने उल्लेख छ। 

कोंकणले नेपाल सरकारसँगको समन्वयमा तोकिएभन्दा बढी समय लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो। प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमि थियो भने अहिले करिब १ सय ४० किलोमिटर हुने बताइएको छ। रेलमार्गमा करिब ४० किलोमिटर सुरुङ र विशेषखालका हाइराइज पुलसमेत निर्माण गर्नुपर्ने छ। सबैभन्दा लामो ८ किमि सुरुङसहित करिब ३ दर्जन सुरुङ बनाउनु पर्ने डीपीआरमा उल्लेख छ। आयोजनामा विशेष प्रकृतिका २४ हाइराइज पुल, १ सय २४ वटा ठूला प्रकृतिका र करिब १ सय २० वटा सामान्य पुल बन्ने छन्। 

रक्सौल काठमाडौं रेलमार्गमा कति वटा स्टेसन बन्ने, काठमाडौंको कुन बिन्दुमा अन्तिम स्टेसन हुनेलगायत विषय भने डीपीआर सार्वजनिक भएपछि तय हुनेछ। तर प्रारम्भिक अध्ययनमा १२ वटा स्टेसन निर्माण गरिने उल्लेख थियो। त्यस्तै रेलमार्गको अन्तिम बिन्दु काठमाडौंको कीर्तिपुर हुने तय भएको थियो। डीपीआरमा यी कुराहरूमा भने केही फेरबदल भएको हुनसक्छ। 

चीनले पनि रुसुवागढी काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमा गरेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको थियो। रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटरको लामो रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउने पर्ने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख थियो। 


प्रकाशित : बिहीबार , जेठ १८ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend