शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जेठ १७ गते भारत जाँदै प्रधानमन्त्री, यस्तो छ भ्रमण तालिका

शनिबार, जेठ १३ २०८०
जेठ १७ गते भारत जाँदै प्रधानमन्त्री, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण पनि गर्नेछन्।

काठमाडौं‌- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणको मिति तय भएको छ। 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमणको तालिका सार्वजनिक गरेको हो, जसअनुसार उनी जेठ १७ गते भारत प्रस्थान गर्नेछन्। जेठ १८ मा भारतीय समकक्षी नरेन्द्र माेदीसँग हैदराबाद हाउसमा भेटवार्ता हुने तय भएको छ। 

प्रम दाहालले त्यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ। भारतीय प्रम माेदीको औपचारिक निम्तोमा भारत जान लागेका प्रधानमन्त्री दाहालले त्यहाँ भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण पनि गर्नेछन्। उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रम दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालको यस भ्रमणले भारतको 'छिमेकी पहिलो' नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ। पछिल्ला केही वर्षमा दुई देशबीच सहकार्यका सबै क्षेत्रमा महत्त्वपूर्ण रूपमा सम्बन्ध मजबुत भएको पनि भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुनेछन्। जेठ २० गते प्रम दाहालसहित भ्रमण टोली काठमाडौं फर्किनेछन्। 


प्रकाशित : शनिबार, जेठ १३ २०८००६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend