शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मन्त्री आचार्यको गुनासो : काम बढी भएको मन्त्रालयमा बजेट कम भयो

मंगलबार, जेठ २ २०८०
मन्त्री आचार्यको गुनासो : काम बढी भएको मन्त्रालयमा बजेट कम भयो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले संविधानमा उल्लेखित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हकअधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन्।

'मन्त्रालयअन्तर्गत गर्नुपर्ने काम धेरै छन् तर बजेट भने न्यून विनियोजन हुने गरेको छ', महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो बैठकमा मन्त्री आर्चायले भने, 'मानवीय संवेदनशीलताको कार्यक्षेत्र बढी भएको मन्त्रालयमा बजेट बढाउन जरुरी छ।'

विगतमा समितिले गरेका निर्णय अध्ययन गरी प्राथमिकताका क्षेत्र विभाजन गर्दै कार्यान्वयन गर्नुपर्ने भन्दै उनले संविधानमा उल्लेखित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हकअधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

बैठकमा समिति सदस्यहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकका मौलिक हकको कार्यान्वयन गर्नुपर्ने, सम्बन्धित आयोगका कार्यको मूल्यांकन गर्नुपर्नेमा जोड दिए।

साथै आजको बैठकमा बालबालिका पोषण कार्यक्रममा एकरुपता ल्याउनुपर्ने, एकल महिलाको अध्ययन गरी रोजगारीमा उन्मुख गराउनुपर्ने, दोहोरो सुविधा नलिने गरी वृद्धभत्तामा हेरफेर गर्नुपर्ने, समितिका निर्णयलाई कार्यन्वयन गरी नतिजामुखी बनाउनुपर्ने लगायतका विषयमाथि छलफल भएको थियो।

ज्येष्ठ सदस्य रोशन कार्कीको सभापतित्वमा सञ्चालन भएको बैठक महिला आयोग, दलित आयोग, समावेशी आयोगका भएका कामकारबाहीको समीक्षा, खर्च गरिएका विवरण, भावीे कार्यक्रमको सम्भावित बजेटलगायतका विषयमा केन्द्रित थियो। 

समितिको कार्यक्षेत्रमा महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, सामाजिक सुरक्षा, समावेशीता तथा सीमान्तकृत वर्ग समुदायको हकहितसम्बन्धी विषय र सम्बद्ध विषय तथा निकाय पर्छन्। रासस


प्रकाशित : मंगलबार, जेठ २ २०८००८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend