शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

सोमबार, जेठ १ २०८०
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराए।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गरे। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दशेव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा सदनकोतर्फबाट सभामुखले रुलिङ गराइसकेको भए पनि सरकारले हालसम्म जानकारी नदिएकामा गुनासो गरे।

सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताए। विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उहाँले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे। उनले नक्कली शरणार्थी प्रकरणको छानबिन चलिरहेका बेला अन्य विषय उठाएर छानबिन प्रभावित पार्न खोजिएको उल्लेख गरे।

सांसद दिक्पाल शाहीले गत बैशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराए। सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उनले माग गरे।

सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराए।

सांसद राजकिशोर यादवले सिराहाको सुखीपुरमा भएको आगलागीको घटनामा परी जनधनको क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गरे। सुक्खा मौसमका समयमा तराई मधेसका जिल्लामा आगलागीको घटनामा वृद्धि हुन थालेको उल्लेख गर्दै उहाँले त्यस्तो घटना न्यून गर्न सरकारले पहल गर्नुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणलाई उनले देशद्रोहको संज्ञा दिँदै दोषीलाई कडा कारबाहीको माग गरे।

सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपद्मा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे। सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीतिनियम र कानूनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताए।

सांसद दिपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति विदेशिएकाले उनीहरुलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताए। बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उनले माग गरे। रासस 


प्रकाशित : सोमबार, जेठ १ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend