शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ओली भन्छन् - शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
ओली भन्छन् - शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन

नेकपा एमाले अध्यक्ष केपी ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढंगले कसैलाई फसाउन खोजिएको बताए।

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किन नहुने बताएका छन्।

ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई  उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए।

अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढंगले कसैलाई फसाउन खोजिएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताए।

उनले अनुसन्धानलाई सहयोग गर्नका लागि पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेकोसमेत बताए। अध्यक्ष ओलीले नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको भन्दै यसप्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो भनेर प्रश्न गरे। राज्यको अर्बौको ढुकुटी कुल्याउन भ्रष्टाचारका मुद्दा खोजी खोजी छानबिन गर्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे।

'राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। राज्यको ढुकुटी अर्बौँको सम्पत्ति कुम्लाउनेविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,' उनले भने, 'तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यत्तिकै राखेको छ।'

उनले सरकारले भूटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चार बुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताए।

उनले नेपाली भाषी भुटानी योजनाबद्ध ढंगले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको बताए। साथै आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग शरणार्थी समस्या समाधान गर्न पनि आग्रह गरेको बताए।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन लगायतका १० वटा कार्यसूचीमा छलफल हुनेछ।

एमालेको गत मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक बैठक बस्न थालेको हो। बैठक यही बैशाख ३० गतेसम्म चल्ने छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००९:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend