शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दोस्रो स्टक एक्सचेन्ज आउने निश्चित भएपछि बल्ल सुधारको तरखरमा नेप्से

निजी र सरकारीको प्रतिस्प्रर्धाले दोस्रो बजार सुधारिने अपेक्षा

शुक्रबार, वैशाख २२ २०८०
दोस्रो स्टक एक्सचेन्ज आउने निश्चित भएपछि बल्ल सुधारको तरखरमा नेप्से

नयाँ स्टक एक्सचेन्ज आउने भएसँगै लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि नेप्से आईपीओ जारी गर्ने तयारीमा जुटेको छ।

काठमाडौं- दोस्रो स्टक एक्सचेन्ज सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले अन्तिम तयारी गरेसँगै संसद् मात्रै होइन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि तातिएको छ।

सञ्चालनमा आएको दशकौँसम्म सुधारमा नलागेको नेप्से निजी क्षेत्रको एक्सचेञ्ज कम्पनी आउने भएपछि रणनीति कार्ययोजना बल्ल कार्यान्वयनमा ल्याउने सुरसार गरेको हो। 

नयाँ स्टक एक्सेचेञ्जका लागि ठूला कर्पोरेट घरानाको तीव्र लविङ जारी छ। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स माग्दै नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आवेदन दिइसकेका छन्। यता नेप्सेले भने धमाधम नयाँ कार्यक्रमहरु सार्वजनिक गर्न थालेको छ। 

दोस्रो कम्पनीले सुधार आउला नेप्सेमा?

नेप्सेले नयाँ कम्पनी रोक्न खोजे पनि अहिले रोकिने अवस्था छैन। दोस्रो कम्पनीका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिइसकेका छन्। दोस्रो कम्पनीका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको हो। तीन कम्पनीमध्ये एकले लाइसेन्स पाउने निश्चत छ। 

लाइसेन्स पाउने कम्पनी नेपाल स्टक एक्सचेन्जपछि दोस्रो स्टक कम्पनी बन्दै दोस्रो बजारको सेयर कारोबारमा हुनेछ। नयाँ लाइसेन्स पाएसँगै कारोबार सुरु भएमा २९ वर्षपछि नयाँ स्टक कम्पनी आउने छ। 

नेपालमा उदारीकरणपछि मात्रै नेपाल स्टक स्थापना भएर सेयर कारोबार सुरु भएको थियो। २०३३ सालमा सेक्युरिटिज खरिद-बिक्री केन्द्र स्थापना गरेर सरकारी ऋणपत्र (बोन्ड) को दैनिक खरिद-बिक्रीको व्यवस्था गरिएको थियो। 

धितोपत्र खरिदबिक्री ऐन, २०४० लाई २०४९ मा संशोधन गरी २०५० सालमा उक्त केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूपान्तरण गरिएको थियो। तर नेप्से स्थापना भएको तीन दशकको अवधि भइसक्दा पनि धितोपत्र बजारको विकास सुस्त थियो। नयाँ लाइसेन्स पाउने कम्पनी निजी क्षेत्रको हुनेछ।

सरकारी स्वामित्वको एउटामात्र भएकाले प्रतिस्पर्धी कम्पनी ल्याउने योजना यसअघि धेरैपटक अघि बढेका थिए। नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत र नेपाल राष्ट्र बैंकको १४.६, सञ्चय कोषको १० प्रतिशत, वाणिज्य बैंक ६.१४ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर हिस्सा रहेको छ। २ सय १७ कम्पनी सूचीकृत कम्पनीहरूले दोस्रो कारोबार गर्दै आएका छन्।

एउटै स्टक एक्सचेन्ज भएकाले प्रभावकारी हुन नसकेको, टीएमएस प्रणाली, कारोबारको राफसाफ राम्रो नभएको भन्दै लगानीकर्ता र सरोकारवाला निकायले नै प्रतिस्पर्धी स्टक एक्सचेन्ज ल्याउनुपर्ने माग गरेका थिए। 

नयाँ स्टक एक्सचेन्ज आउने भएसँगै लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि नेप्से आईपीओ जारी गर्ने तयारीमा जुटेको छ। लगानीकर्तालाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा जुटेको हो।

नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यअनुरूप बजारमा तत्काल कारोबारयोग्य सेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रूपमा नेप्से-३० ल्याउने तयारीमा जुटेको छ। प्रस्तावित नेप्से-३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ वटा आधार तय गरिएको छ।

साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष नाफामा रहेको हुनुपर्ने छ। यस किसिमको दीर्घकालीन महत्वको सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकार राख्नेसँग नेप्सेले बुधबार सुझाव पनि मागिसकेको छ । 

नेपाल स्टक एक्सचेन्जलाई पुनः संरचना गर्नुपर्ने भन्दै यसअघि भएका अध्ययन प्रतिवेदनमा आएका कुरालाई कार्यान्वयन गर्नुपर्ने दबाब बढेको छ। यसका लागि नेप्सेका कर्मचारीले नै बुधबार नेप्सेकै अगाडि धर्ना दिएर विरोध जनाएका छन्। २०८० भित्रै नेप्सेको पुनर्संरचना गर्नसमेत माग गरेका छन्। 

दोस्रो बजारमा तीन कम्पनी, कुनमा कसको लगानी?

शंकर समूहको अगुवाइमा खुलेको हिमालयन स्टक एक्सचेन्जमा पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठलगायत छन्। पछिल्लो समय वित्तीय क्षेत्रमा लगानी विस्तार गर्दै आएका दीपक भट्टको पनि यसमा मुख्य हिस्सेदारी रहेको छ। 

नेशनल स्टक एक्सचेन्जमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ। अन्नपूर्ण स्टक एक्सचेन्जमा रामेश्वर थापा, गणेश कुमार श्रेष्ठ, सुरेन्दराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीको सेयर हिस्सा रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००१:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend