काठमाडौं- दुई महिनामा ६८५ अंकले घटेको सेयर बजारमा यस साताको २६८ अंकको सुधारले लगानीकर्तालाई राहत दिएको छ। निराश भएका लगानीकर्तामा उत्साह छाएको छ।
भदौ २ गते नेप्सेसूचक अहिलेसम्मकै सर्वाधिक ३१९९ अंक पुगेर कात्तिक २ गते २५१४ अंकसम्म तल झर्यो। यस अवधिमा सेयर बजार ६८५ अंकले तल झर्यो। विश्लेषकहरूले अब बजारको घट्ने दर सकिएकोले उकालो लाग्ने अनुमान गरेका छन्। बिहीबार साताको अन्तिम दिन १३.०४ अंकले बढेर २७८२.१७ पुगेको छ। यो साता कारोबार रकमसमेत बढ्दै गएको छ। बिहीबार मात्रै ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।
बैंक ब्याजदर, बैंकिङ तरलता, सेयर धितोकर्जामा नेपाल राष्ट्र बैंकको कडाइले तल झरेको सेयर बजारलाई चुनावको हल्लाले साथ दिएको छ। बजार करेक्सन हुने पर्ने भएपनि अतिनै तल झरेको र अब फेरि नयाँ रेकर्ड तर्फ अगाडि बढ्को विश्लेषकहरू बताउँछन। तर बजार बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनु पर्ने सेयर विश्लेषक विष्णु प्रसाद बस्याल बताउँछन्।
निरन्तर रुपमा घटेको सेयर बजार बढ्नुमा अहिले नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा लगाएको अंकुश नै हो। अर्को कारण भने चुनावी हल्ला पनि भएको बजार विश्लेषकहरू बताउँछन्। बजारमा तिहारअगाडि कुनै पनि नकारात्मक समाचार आउने अवस्था नरहेको विश्लेषकहरूको बुझाइ छ। तर लगानीकर्ताले लगानी गर्दा भने केही सोचविचार गरेर गर्नु पर्ने उनीहरूको भनाइ छ।
‘आगामी दिनमा धेरै अंकले पनि नबढ्ने र नियन्त्रित रेसियोको बाटोमा सेयर बजार जाने देखिन्छ। सेयर बजार नियन्त्रित अनुपातमै अघि बढे पनि तल होइन माथि नै जाने देखिन्छ,’ बस्यालले भने, ‘अबको अवस्थामा भने लगानीकर्ता प्यानिक हुनेगरि बजार घट्ने देखिदैँन। कारोबार रकममा खासै सुधार नभए पनि बजारको सेन्टिमेन्ट राम्रो सकारात्मक देखिएको छ।’
यसको एउटा मुख्य आधार भनेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दैछ। यो पहिलो त्रैमासिक समीक्षाबाट सुधारको टेको लाग्ने आश गर्न सकिन्छ। तर केन्द्रीय बैंकले नीतिमा केही सुधार गरेन भने सेयर बजारमात्र होइन अर्थतन्त्र नै डामाडोल हुने उनको भनाइ छ। अहिलेको अवस्थामा नेपाली अर्थतन्त्रले अतिरिक्त तरलता माग गरेको छ। यसका लागि अहिलेको तुलनामा पैसाको प्रवाह बढाउनुपर्छ।
‘अहिलेको मुख्य काम भनेको तत्काल तरलताको समस्या समाधान हुनैपर्छ। यति भएपछि समग्र अर्थतन्त्रसँगै सेयर बजारमा पनि राम्रो संकेत देखिनेछ तर अन्ततः परिणाम पनि राम्रो देखिन्छ। सेयर बजारको ओरालो यात्रा लगभग सकिएको छ।
अझै तल आए पनि यो भन्दा तल आउने अवस्था देखिँदैन, उनले भने। दुई महिना डाउन साइज मुभमेन्टभ आइसकेको छ। यसबाट एउटा स्वभाविक ट्रेन्ड के देखिन्छ भने अहिलेसम्मकै बजारको उच्च बिन्दुलाई उछिन्ने गरी बजारले लय समात्ने उनको बुझाइ छ। माइक्रोफाइनान्स, बिमा र बैंकिङ सेक्टर अब बढ्न सक्ने क्षेत्र हुन्। अहिलेसम्मको सम्भावनाले यही देखाउँछ।
‘सुधारका लागि सबैभन्दा पहिलो बैंकिङ क्षेत्रमा रहेको तरलता समस्या समाधान हुन पर्छ। बैंकहरू अहिले ऋण दिन सक्ने क्षमतामा छैनन्। राष्ट्र बैंकको सीडी रेसियोले गर्दा ल्याएको समस्या हो। सीडी रेसियोमा जे जति सुधार गर्न सकिन्छ वा राष्ट्र बैंकले कस्तो नीति लिएर आउँछ त्यसमा भर पर्छ,’ उनले भने, ‘ जसरी भए पनि बैंकको तरलता अभाव समस्या सम्बोधन हुन पर्छ। अर्को रेमिट्यान्स रकम पनि कम हुँदै आएको छ।
जसको असर सेयर बजारमा देखिएको छ। रेमिट्यान्स रकममा सुधार भएको अवस्थामा पनि तरलता अभावलाई केही सहजता बनाइदिन्छ। सरकारी लगानीका कामहरू द्रुत गतिमा हुनु पर्छ। यसबाट सरकारले दिने पेमेन्ट छिट्टो रिलिज गरिदिएको अवस्थामा तरलता अभावलाई कम गर्न सहजता हुन्छ।’
अहिले विलासी बस्तुको आयात बढ्दा देशबाट रकम बाहिरिरहेका छ। नेपालले भने आफ्नो ढुकुटी बलियो बनाउन सक्ने अवस्था छैन। रेमिट्यान्सले नै बलियो बनाइरहेका छ। रेमिट्यान्स पनि घटने र आयात बढ्नले हो भने थप समस्या आउन हुनेको भनाइ छ।
अर्को राष्ट्र बैंकले सेयर कर्जामा ल्याएको ४ करोड र १२ करोड नीतिमा संस्थागत लगामी कर्तालाई त्यो सिमा भन्दा बाहिर जान दिनु पर्ने बस्याल बताउँछन। यी काम भएको अवस्थामा सेयर बजार बढ्ने र घट्दा २४ सय भन्दा तल आउने सम्भावन पनि छैन। यो बुललाई एक वर्षसम्मलाई लिएर हेर्ने हो भने ५ हजारको अंकमा बजार पुग्ने बस्यालको तर्क छ।
राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जाको ४ र १२ करोडको सीमालाई हटाइदियो र सिडी रेसियोको विषयमा केही संशोधन गरिदियो भने बजारले पुनः सुधारको गति लिने अर्का विश्लेषक छोटेलाल रौनियार बताउँछन्। यदि नेपाल राष्ट्र बैंकले दुवै एजेण्डामा हेरफेर गरेन भने बजारले खासै सुधारको गति लिन सक्ने अवस्था नरहने उनको भनाइ छ।
अझै पनि ठूला लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। साना तथा ठूला लगानीकर्ताले थोरै थोरै मात्रै सेयर खरिद गरिरहेका छन्। धेरै सेयर खरिद गर्दा अहिलेको अवस्थामा जोखिम नै हरेको विश्लेषकहरू बताउँछन्। त्यसैले गर्दा थोरै मात्रै जोखिम लिने मुडमा लगानीकर्ता छन्।
‘विगतको ३२ सय अंक र २२ अर्ब रुपैयाँ हाराहारीको कारोबार तोड्दै बजार अगाडि बढ्छ। तर आजको भोलि नै हुन्छ भन्ने कुरा रहँदैन। हामीले हेर्दा ठूलो रेकर्ड जस्तो लाग्छ,’ उनले भने, ‘ बजार सुधारका लागि ४ करोड र १२ करोडको सिमा हटाउनु पर्छ।’
लगानीकर्ताहरूमा अनुभव नहुँदा बढी डराएका उनको भनाइ छ।लगानी कर्ताले कम्पनीको विगतदेखि सबै विवरण हेरेर राम्रोमा लगानी गर्नु पर्ने र विस्तारै बजारले लय समात्ने उनको भनाइ छ।
'२२ अर्ब र ३२ सयको अंकभन्दा माथि जान्छ, लगानीकर्ता पनि थपिँदै जान्छन्,’ रौनियारले भने, ‘अंक पनि बढ्दै जान्छ। नियमहरू बनाउँदा नयाँ बाटाहरू हेरेर बनाउनु पर्छ। पुरातनवादी विचारले सेयर बजारलाई हेने हो भने फेरि दुर्घटना हुन्छ। नयाँ विचारधारले हेर्नुपर्छ। बिलासीको विषयमा पनि हौवा फैलाइएको छ।’