शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

गुण्डुका फूल अमेरिकादेखि अष्ट्रेलियासम्म 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
गुण्डुका फूल अमेरिकादेखि अष्ट्रेलियासम्म 

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आउनुभएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउने गरेको बताउँछन्।

images
images

भक्तपुर- बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन्। जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन्।

images
images
images

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ। घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ।

images
images

नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन्। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आउनुभएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउने गरेको बताउँछन्।

images
images

तीन रोपनी जग्गामा फूलखेती गरेकी उनले एक सिजनमा चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको सुनाए। बस्नेत भन्छन्, 'मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै तीन लाख रुपैयाँको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ।' एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यस वर्ष कम्तीमा २५ रुपैयाँमा बिक्री हुँदा पनि एक लाख रुपैयाँको माला उत्पादन हुने बताए।

उनले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएका छन्। उनले भने, 'यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ।' विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला २५ मा खरिद गरी २७ रुपैयाँमा पठाउने गरेको उनको भनाइ छ।

मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन्। कतिपयले भने आफैँ बजार पुर्‍याउने गर्छन्। सयपत्री फूल एक मुठाको १० देखि १२ रुपैयाँमा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको ६ सय रुपैयाँमा बिक्री गरेको छ। स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै एक लाख रुपैयाँको फूल बिक्री हुने बताए। उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट १ हजार १ सय माला उनेको बताए। अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ।

गुण्डुमा व्यावसायिक फूलखेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलको बेर्ना वितरण गर्दै आएको छ। सूनपा-७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यस वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताए। उनले भने, 'फूलखेतीमा लागेको किसानलाई प्रोत्साहन दिन नगरपालिकाले यस वर्ष चार लाख रुपैयाँ लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलको बेर्ना वितरण गर्‍यौँ, स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्‍यौँ।'

गुण्डुमा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन्। वडाध्यक्ष सापकोटाले गुण्डुमा मात्रै करिब ४ सय रोपनी क्षेत्रफलमा फूलखेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब तीन करोड रुपैयाँको फूल बिक्री हुने गरेको बताए। उनले फूलखेतीको बजार व्यवस्थापनका लागि एकद्धार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले किसानले अस्वस्थ्य प्रतिस्पर्धा नगरी एकद्धार प्रणालीमा जान चाहेमा वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए। स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूलखेती गरेका छन्। मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनी जग्गामा लगाएकी उनलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पुर्‍याउन भ्याइनभ्याई भएको छ। 

गुण्डु निवासी सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयवासी सरिता कुँवरले जानकारी दिए। पहिला जिर्ण सडक र पिछडिएको गुण्डुमा फूलखेती गरे पनि बजार पुर्‍याउन कठिन हुनेमा अहिले चार वर्षकै अन्तरालमा गुण्डु जाने चारवटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान निकै सहज भएको उनले बताए।

भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायतका ठाउँमा अहिले व्यावसायिक फूलखेती हुन थालेको छ। सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब रु पाँच करोडको फूल बिक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ। मकै बारीमै फूलखेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन्। धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन्। सत्रपत्री फूलभन्दा मखमली फूलमा औषधि धेरै हाल्नुपर्ने र धेरै स्याहार्नु पर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend